विशेष अनलाइन । अर्पण थापाको निर्देशनमा नयाँ चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ। एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा बन्न लागेको यस चलचित्रको शुक्रबार वसन्तपञ्चमीको शुभ अवसर पारेर औपचारिक घोषणा गरिएको हो। निर्माण पक्षले कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत पूजा गर्दै चलचित्रको काम सुरु गरेको छ।
अभिनेता तथा निर्देशक थापाका लागि यो पाँचौँ निर्देशकीय यात्रा हुनेछ। यसअघि उनले ‘मुखौटा’, ‘आधा लभ’, ‘सुनकेशरी’ र ‘घर’ जस्ता चलचित्रहरू निर्देशन गरिसकेका छन्। नेपाली चलचित्र क्षेत्रमा फरक शैलीको प्रस्तुति र अभिनयका लागि चिनिने थापाले यसपटक पनि दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ।
चलचित्रको मुख्य भूमिकामा अर्पण थापा स्वयं देखिनेछन् भने उनलाई अभिनेत्री थिन्ले ल्हामोले साथ दिनेछिन्। ‘नाका’ र ‘शाम्बाला’ जस्ता चलचित्रबाट चर्चा कमाएकी थिन्ले र अर्पणको जोडीलाई पर्दामा हेर्नु दर्शकका लागि रोचक हुनेछ। चलचित्रमा अनुभवी अभिनेत्री गौरी मल्ल र आयशा तामाङको पनि महत्वपूर्ण अभिनय रहने जानकारी दिइएको छ।
चलचित्रको छायांकनका लागि निर्माण टोलीले चितवनलाई रोजेको छ। प्रेमकथामा आधारित रहने संकेत दिइएको यस चलचित्रको कथावस्तु र अन्य प्राविधिक पक्षबारे थप विवरणहरू आउन बाँकी नै छ।










Discussion about this post