विशेष अनलाइन । मंसिर २६ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शनको तयारीमा रहेको शोभित बस्नेत निर्देशित नेपाली चलचित्र ‘पीआर’ को दोस्रो गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार अष्ट्रेलियाको अबर्नमा एक विशेष कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो।
प्रेम, समर्पण, र आत्मीयताको भाव बोकेको यस गीतमा मानस राजको संगीत रहेको छ भने सनुप पौडेल र नितु पुन ले स्वर दिएका छन्। गीतको भिडियोमा मुख्य कलाकारहरू सुरज पौडेल र विनिता कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। उनीहरूको आकर्षक केमेस्ट्री, रमणीय छायांकन स्थल र सौरभ लामाको छायांकन ले दृश्यलाई जीवन्त बनाएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछाने ले गरेका हुन्। संयोगवश, गीत सार्वजनिक गरिएको दिन आइतबार कलाकार सुरज पौडेलको जन्मदिन समेत परेको थियो।
गीत रिलिज कार्यक्रममा निर्देशक शोभित बस्नेतले फिल्ममा हरेक नेपालीले आफ्नो कथा भेट्टाउने दाबी गरे। उनले भने, “यो फिल्म नेपालका युवाको सपना, संघर्ष र आप्रवासनसँग जोडिएको कथा हो। दर्शकले चलचित्रमा रोमान्स, एक्सन, र सामाजिक सन्देशको फरक स्वादको मिश्रण पाउनुहुनेछ भन्नेमा म विश्वस्त छु।”
चलचित्रमा सुरज पौडेल र विनिता कार्कीका साथै राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। अष्ट्रेलिया निवासी रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको यस चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माताका रूपमा रहेका छन्।









Discussion about this post