विशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशले ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्ने भएको छ । फेस्टिभल असार १८ र १९ गते विराटनगरको सिटी सिनेमामा हुने छ ।
फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्ने नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले बताए ।
चलचित्र निर्देशक समाजको प्रस्तुतिमा हुन लागेको फेस्टिभलमा सहभागिता हुन चाहने चलचित्रले यही असार ११ गते भित्र आवेदन दिन सक्नेछन् । फेस्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।
हिमाल, पर्यटन र कला संस्कृतिलाई समेटेर निर्माण गरिएका चलचित्र फेस्टिभलको विशेष प्राथमिकतामा पर्ने बताइएको छ ।
फेस्टिभलमा चलचित्र प्रदर्शनसहित विभिन्न विषयमा अन्तरक्रिया गरिने छ । समापनमा उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ भने कलाका माध्यमबाट अन्तराष्ट्रियरुपमा ख्याति कमाउन सफल कलाकारलाई अन्तर्राष्ट्रिय अभिनन्दन समेत गरिने बताइएको छ ।
चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएका छन् । थप जानकारीका लागि ०१४७७२०१५ मा सम्पर्क गर्न सकिने छ ।
Beta feature
Discussion about this post