विशेष अनलाइन । नेपाली चलचित्र उद्योगमा सफल प्रेमकथाका लागि परिचित निर्देशक दिनेश राउतको आगामी निर्देशकीय चलचित्र ‘कुमारी’ को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले सोमबार चलचित्रको पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै यो चलचित्र माघ २३ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने जानकारी दिएको छ। प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को छेको पारेर यो चलचित्र दर्शकमाझ आउन लागेको हो ।
चलचित्रको सार्वजनिक पहिलो गीत ‘कता छौ मेरो फूल’ मा केहरसिंह लिम्बुको शब्द र आवाज रहेको छ, जसमा सुमन तामाङ, युवराज काफ्ले र सागर मगरका शब्दहरू पनि समावेश छन्। यो गीतको आकर्षक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारी फिचर्ड छन्। गीतले चलचित्रको रोमान्टिक ड्रामा जनरालाई झल्काएको छ र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
दिनेश राउत, जसले ‘आइ एम सरी’ बाट आफ्नो निर्देशन यात्रा सुरु गरेका थिए, उनी ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका चलचित्र निर्देशनका लागि विशेष रूपमा चिनिन्छन्। पछिल्ला केही वर्षहरूमा सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्रहरू निर्देशन गर्दै आएका राउतले दर्शकहरूको चाहना र रुचिलाई मध्यनजर गर्दै फेरि प्रेमकथाको जनरामा फर्किएको बताएका छन्। ‘कुमारी’ मार्फत उनले दर्शकहरूलाई एउटा नयाँ र मन छुने प्रेमकथा पस्किने विश्वास व्यक्त गरिएको छ।
‘कुमारी’ बिनिश इन्टरटेन्मेन्ट र पिक्चर्स फ्रेमको सहकार्यमा निर्माण भएको हो, जसका लगानीकर्ता महेन्द्र अधिकारी हुन्। चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। चलचित्रमा कार्यकारी निर्माताको भूमिकामा केदार भुसाल रहेका छन्।









Discussion about this post