विशेष अनलाइन । हास्यकलाकार राजु पौडेल (राजु मास्टर)ले चर्चित टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’को लेखन तथा निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका छन् । करिब दुई दशक लामो यात्रा पूरा गर्न लागेको यस श्रृंखलामा उनी नयाँ भूमिकासहित पुनः फर्किएका हुन् ।
आउँदो सातादेखि प्रसारण हुने गरी राजुले लेखन र निर्देशनसँगै अभिनय पनि गर्नेछन्। मिडिया हबको प्रस्तुतिमा बनेको ‘मेरी बास्सै’ अहिले १९औं वर्षमा प्रवेश गरेको छ। राजुले यही श्रृंखलाबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेका थिए ।
सुरुका १२ वर्षसम्म निरन्तर अभिनय गरेका उनले पछिल्ला ६ वर्ष अन्य टेलिसिरियलमा काम गरेका थिए। आफ्नै घरजस्तो श्रृंखलामा फर्किन पाउँदा खुसी र जिम्मेवारी दुवै महसुस भएको उनले बताए। “मेरी बास्सै मेरो घर हो, यही स्थानले मलाई कलाकारिताको बाटो देखायो,” राजुले भने।
९२३औं भागदेखि उनले श्रृंखलाको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछन्। नयाँ कथासहित अगाडि बढ्ने यो सिरियलको पहिलो ४ भागको छायांकन धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी भदुवारमा सम्पन्न भइसकेको छ।
सिरियलमा राजुसँगै मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सविना आचार्य (सबु), साथै रामचन्द्र अधिकारी (काजी बा), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दीपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे) र यादव थापा (ब्याज प्रसाद) लगायत कलाकार देखिनेछन्। ‘मेरी बास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हबको युट्युब च्यानलमार्फत नियमित रूपमा प्रसारण हुँदै आएको छ ।










Discussion about this post