विशेष अनलाइन । ‘मोदिबेनी’बाट अभिनय यात्रा सुरु गरेकी स्नेहाले ‘बाटुलो जुन’ मा सेकेन्ड लिड अर्थात् सहायक प्रमुख भूमिकामा देखिनेछिन्। उनले फिल्मको केही दृश्य पहिलो चरणमा छायांकन गरिसकेकी छन् भने बाँकी सुटिङ भदौ महिनामा हुने जनाइएको छ।
अडिसनमार्फत चयन भएकी स्नेहाले आफूले अभिनय गरेको पात्रप्रति गहिरो आत्मीयता महसुस गर्दै भूमिका न्यायपूर्वक निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेकी छन्। आफ्नो भूमिकाप्रति आशावादी देखिएकी उनले पहिलो फिल्म ‘मोदिबेनी’मा पनि दर्शकको राम्रो प्रतिक्रिया पाएकी थिइन्।
‘बाटुलो जुन’ भुवन केसीको निर्देशनमा निर्माण भइरहेको हो भने निर्मातामा जिया केसी रहेकी छन्। सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई यसै वर्षको अन्त्यसम्म प्रदर्शन गर्ने तयारी भइरहेको छ।
को हुन् ‘बाटुलो जुन’ की स्नेहा भट्टराई?
सिने क्षेत्रको नयाँ अनुहार स्नेहा भट्टराई, कोशी प्रदेशको व्यस्त शहर इटहरीकी हुन्। उनले कलात्मक यात्राको सुरुवात सौन्दर्य प्रतियोगिताबाट गरेकी थिइन्। १७ वर्षको उमेरमा इटहरीमा आयोजित ‘मिस कलेज नेशनल २०१७’ प्रतियोगितामा फर्स्ट रनरअप बनिन् र त्यसपछि उनले अन्तर्राष्ट्रिय भ्रमणसँगै आफ्नो जीवनको नयाँ मोड देखेकी थिइन्।
संगीत भिडियो ‘बिहानी’ बाट अभिनयमा पाइला चालेकी उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ लगायतका चर्चित गीतहरूमा अभिनय गरिसकेकी छन्। त्यस्तै ‘मिसयुज’ नामक लघु चलचित्रमा समेत उनले अभिनय प्रतिभा देखाएकी हुन्।
स्नेहाले मुकुन भुसालसँग अभिनय प्रशिक्षण लिएर आफ्नो कला यात्रालाई अझ प्राविधिक बनाएकी हुन्। अभिनयसँगै उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोता र झन्डै ३५ वटा व्यावसायिक विज्ञापनहरूमा समेत अभिनय गर्ने मौका पाएकी छन्।
सपना देखेर होइन, सपना बाँचेर अघि बढ्न चाहने स्नेहा अहिले सिने क्षेत्रमै आफ्नो भविष्य खोज्दैछिन्।










Discussion about this post