विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको रूपमा स्थापित नीता ढुंगाना अब निर्देशकको भूमिकामा पहिलो पटक लागेकी छन्। उनले निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘सुख–दुःख’ को छायांकनका लागि भारतका ख्यातिप्राप्त छायाँकार कबीरलाल र उनका छोरा शाहीद लाल अनुबन्धित भएका छन्। हाल काठमाडौंमा रहेका उनीहरूसँग आइतबार औपचारिक सम्झौता भएको हो।
कबीरलाल यसअघि बलिउडका ‘कहो ना प्यार है’, ‘ताल’, ‘युवराज’ लगायतका चर्चित चलचित्रहरूमा छायाँकारको रूपमा कार्य गरिसकेका छन्। उनले केही समयअघि नीताको निर्देशनमा बनेको छोटो फिल्म ‘ह्रस्व दीर्घ’ पनि खिचेका थिए। उनका छोरा शाहीदले दक्षिण भारतीय सिनेमामा विशेषगरी कन्नड र तेलुगु भाषाका फिल्महरूमा अनुभव बटुलेका छन्।
चलचित्रको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्टले र उपत्यका बाहिर एफडी कम्पनीले गर्ने जिम्मा लिएका छन्। यी दुवै संस्थासँग पनि आइतबार सम्झौता गरिएको छ। निर्माण पक्षको व्यवस्थापन शंकर पाण्डेले सम्हाल्ने भएका छन्।
‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यस चलचित्रलाई २०८३ सालको दशैंमा रिलिज गर्ने योजना बनाइएको छ। यद्यपि कलाकार छनोट प्रक्रिया अझै चलिरहेको बताइएको छ। निर्देशक ढुंगानाले ‘सुख–दुःख’ नेपाली समाजको वास्तविकता र भावना उजागर गर्ने कथावस्तुमा आधारित हुने बताएकी छन्।









Discussion about this post