विशेष अनलाइन । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको मेगास्टार अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ सुरुवात देखि नै चर्चामा छ । चलचित्रको ट्रेलर रिलिज पछी भने चलचित्रले थप उचाई प्राप्त गरेको छ ।
ट्रेलर रिलिज भएको २४ घण्टा नबित्दै मिलियन भ्युज पाएको ‘फर्की फर्की’को विदेश प्रदर्शनमा पनि उच्च माग छ ।
यसबिच सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्र वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।
नेपाली चलचित्रको लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ । हङकङमा भने चलचित्रलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको चलचित्रको अन्य विभिन्न देेेशमा अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।
चलचित्रमा अनमोल केसीको अपोजिटमा अभिनेत्री जसिता गुरुङ छिन् ।
सफल चलचित्र “छ माया छप्प्क्कै” पछि निर्माता रोहित अधिकारीले चलचित्र ‘फर्की फर्की’ बनाएका हुन् । मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको चलचित्रमा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको चलचित्रको सम्पादक सुरेन्द्र पौडेल हुन् ।
Discussion about this post