विशेष अनलाइन । सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल यतिबेला आफ्नो नयाँ चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई लिएर चर्चामा छन् । नेपाली चलचित्र उद्योगमा बजेट र स्टारडमका आधारमा चलचित्रलाई ‘सानो’ वा ‘ठूलो’ भनेर वर्गीकरण गर्ने बढ्दो प्रचलनलाई चुनौती दिँदै, उनले सार्वजनिक रूपमै आफ्नो चलचित्रलाई प्रदर्शनअघि ‘सानो सिनेमा’ नभन्न आग्रह गरिरहेका छन् ।
सामान्यतया, थोरै लगानीका चलचित्रहरूलाई ‘साना’ र स्थापित कलाकारसहितको ठूलो लागतका चलचित्रलाई ‘ठूलो’ भन्ने चलन छ । तर, पौडेलको बुझाइमा यो वर्गीकरणको कुनै अर्थ छैन । उनी भन्छन्, “कुनै पनि सिनेमा सानो वा ठूलो भन्ने कुरा रिलिज हुनुअघि कास्टिङ वा बजेटले होइन, बरु त्यसको बक्सअफिस कलेक्सनले मात्रै निर्धारण गर्छ ।” उनले चलचित्रको सफलता र असफलताको मापन रिलिजपछि मात्रै हुने कुरामा जोड दिएका छन् ।
यसै क्रममा, मंसिर १८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘अभिमन्यु’ लाई पनि कतिपयले ‘सानो चलचित्र’ को कोटीमा राखेर हेरिरहेका छन् । प्रदर्शनअघि उपेक्षामा परेको उनको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजपछि बक्सअफिसमा इतिहास रचेको उदाहरण दिँदै, निर्माता पौडेल भन्छन्, “स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा सानो चलचित्र भन्ने हुँदैन ।”
विनोद पौडेलले ‘अभिमन्यु’ लाई अन्डरडगहरू (उपेक्षामा परेका व्यक्ति) को चलचित्र भनेर परिभाषित गरेका छन् । यसमा दर्शकमाझ कमै चिनिएका तर अभिनयमा अब्बल कलाकारहरूको अभिनय रहेको छ । उनले स्टारकास्ट नभएको भन्दै चलचित्रलाई कम नआँक्न चेतावनी दिँदै, यसको कथा, अभिनय र प्रस्तुतिकरण बलियो रहेको दाबी गरेका छन् ।
सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखनमा बनेको यो चलचित्र विनोद पौडेलले गुञ्जन गिरीसँगको सहकार्यमा निर्माण गरेका हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा कालेश्वर चौरसिया, सरिता गिरी, शिशिर वाङ्देल, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।












Discussion about this post