विशेष अनलाइन । कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले छोरीको नाममा स्थापना गरेको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक भएको छ। उक्त ब्यानरमार्फत प्रियंका र आयुष्मानले धमाधम चलचित्र र टेलिभिजन कार्यक्रमहरू निर्माण गरिरहेका छन्। यसअघि यही ब्यानरबाट ‘जस्ट अनदर लभस्टोरी’ र ‘वसन्त’ जस्ता वेब-सिरिज तथा छोटा चलचित्रहरू निर्माण भइसकेका छन्।
करिब १५ मिनेट लामो यो छोटो चलचित्रले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ। प्रियंका कार्कीको आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यस चलचित्रलाई १० दिनमै ४ लाखभन्दा बढी पटक हेरिएको छ भने दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया समेत प्राप्त भइरहेको छ। चलचित्रको मुख्य भूमिकामा प्रियंका स्वयं देखिएकी छन्, जहाँ उनले एक ग्रामीण महिलाको जीवन्त अभिनय गरेकी छन्।
पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको यस चलचित्रले विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’ को यथार्थलाई चित्रण गरेको छ। चलचित्रको कथा एक युवती आमाको वरिपरि घुम्छ, जसको सात वर्षको छोरा बाढीले उर्लिएको नदीमा बगेर हराएपछि जीवन पीडा र अनिश्चिततामा डुब्छ। नियतिको कठोर वास्तविकता र त्यसका बीचमा देखिने आशाको सानो झिल्कोलाई यस चलचित्रले मर्मस्पर्शी रूपमा देखाएको छ।
यस चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक स्वयंले लेखेका हुन्। प्रियंकाले यस चलचित्रमार्फत आफ्नो अभिनयको विविधतालाई पुनः पुष्टि गरेकी छन्। चलचित्रको छायाङ्कन आयुष्मान जोशीले गरेका हुन् भने यसमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीको समेत अभिनय रहेको छ। ‘आयाङ्का फिल्म्स’ को ब्यानरमा प्रियंका र आयुष्मानले आगामी दिनमा कथानक चलचित्र समेत निर्माण गर्ने तयारी गरेका छन्।
सामाजिक सन्देश बोकेको यस चलचित्रले नेपालको विकट क्षेत्रमा पुल नहुँदा तुइनकै कारण अकालमा ज्यान गुमाउनुपर्ने दुखद अवस्थालाई उजागर गरेको छ। सरकारले तुइन विस्थापित गर्ने योजना अघि सारे पनि प्रभावकारी कार्यान्वयन नहुँदा नागरिकले भोग्नुपरेको सास्ती र जोखिमलाई चलचित्रले सशक्त ढङ्गले उठाएको छ।











Discussion about this post