विशेष अनलाइन । पछिल्लो समय कुनै पनि गीतको सफलता मापन गर्ने कसी टिकटक बन्न थालेको छ । यही सन्दर्भमा, निर्माणधीन चलचित्र ‘राम नाम सत्य’ मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले टिकटकमा व्यापक चर्चा पाइरहेको छ । सार्वजनिक भएको छोटो समयमै यस गीतमा झन्डै तीन लाख टिकटक भिडियोहरू बनेका छन् भने युट्युबमा पनि यसले २७ लाख भन्दा बढी (२,७३४,६५१) भ्यूज संकलन गर्दै आफ्नो बलियो उपस्थिति जनाएको छ ।
निर्वाचनको व्यस्त र बोझिलो माहोलका बीच सार्वजनिक गरिएको यस गीतले श्रोताहरूको मन जित्न सफल भएको छ । धेरै दर्शकले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै चुनावी सरगर्मीले थकित बनाएको दिमागलाई यो गीतले शीतलता प्रदान गरेको बताएका छन् । गीतको संगीत र दृश्य पक्षको खुलेर प्रशंसा भइरहँदा, यसै गीतका कारण चलचित्र हेर्न आफूहरू आतुर रहेको प्रतिक्रिया दिनेहरूको संख्या पनि उल्लेख्य देखिएको छ ।
दर्शकको यस्तो न्यानो माया र उत्साहजनक प्रतिक्रियाबाट निर्देशक माइकल चन्द निकै खुसी देखिएका छन् । सुरुवाती चरणमा निर्वाचनको समयमा गीत सार्वजनिक गर्दा कतिपयले जोखिमपूर्ण निर्णय भने तापनि आफूहरू गीतको गुणस्तरमा विश्वस्त रहेको उनले बताए । आज लाखौँ दर्शकको मुखमा यो गीत झुण्डिनु र टिकटकमा भाइरल हुनुले निर्माण टिमलाई थप ऊर्जा र उत्साह थपेको निर्देशक चन्दको भनाइ छ ।
रोमान्टिक शैलीको यस सुमधुर गीतमा धन बहादुर गिरी (बाबुल) र रचना रिमालले स्वर दिएका छन् भने शब्द डा. डीआर उपाध्यायको रहेको छ । गायक गिरी स्वयम्को संगीत र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टको आकर्षक अभिनय र केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।
आगामी चैत २७ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रमा विराज र सुपुष्पाका साथै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको सशक्त अभिनय रहनेछ । उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माताहरू किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।









Discussion about this post