विशेष अनलाइन । नेपालका सात वटा प्रमुख चलचित्र महोत्सवका आयोजकहरूले महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरूको सेन्सर प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सँग माग गरेका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलमा आयोजकहरूले कार्यविधिमा रहेका केही प्रावधानले भविष्यमा काम गर्न असहज हुन सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्। विशेष गरी ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि, २०८२’ को सातौँ बुँदामा रहेको महोत्सवका चलचित्र पनि जाँच गर्नुपर्ने व्यवस्थालाई हटाउन वा संशोधन गर्न उनीहरूले लिखित सुझाव दिएका छन्।
चलचित्रकर्मी केपी पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यविधिको उक्त बुँदाले हाल काम गर्न तत्कालै बाधा नपुर्याए पनि भविष्यमा आयोजकहरूलाई अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेको छ। पाठकका अनुसार, यो बुँदा पहिलेदेखि नै भए तापनि कार्यान्वयनमा जटिलता आउन सक्ने भएकाले समयमै संशोधनको माग गरिएको हो। छलफलमा किम्फ, निफ, ह्युमन राइट्स, वुमन, ग्रामीण, पामे र काठमाडौँ हरर फेस्टिभल जस्ता महत्वपूर्ण चलचित्र महोत्सवका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा बोर्डका अध्यक्ष एवं सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले आयोजकहरूलाई आश्वस्त पार्दै वर्तमान कार्यविधिले कुनै रोकतोक नगर्ने स्पष्ट पारे। उनले उक्त बुँदा नयाँ नभई पहिलेदेखि नै चलचित्र नियमावलीमा रहेको जानकारी दिँदै कार्यविधिमा कुनै अप्ठ्यारो परे आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष रानामगरले महोत्सव आयोजकहरूलाई कुनै पनि संशय नराखी ढुक्क भएर काम गर्न आग्रह समेत गरेका छन्।
समितिकी सदस्य सचिव ममता बास्तोलाले चलचित्रकर्मीहरूको सहजताकै लागि पुराना दर्जनौँ झन्झटिला प्रावधान हटाएर नयाँ कार्यविधि ल्याइएको बताइन्। उनले कतिपय चलचित्रकर्मीहरूले कुरा नै नबुझी हल्लाको पछि लाग्ने गरेको गुनासो गर्दै सेन्सरका विषयमा केही समस्या भए बाहिर हल्ला गर्नुभन्दा सिधै समितिमा आएर छलफल गर्न सुझाव दिइन्। बोर्डले चलचित्रकर्मीलाई दुःख दिने भन्दा पनि प्रक्रियालाई आधुनिक र सरल बनाउन खोजेको उनको दाबी थियो।
बोर्डका अन्य सदस्यहरू सम्पन्न श्रेष्ठ, कुबेर गिरी लगायतले अहिलेको सेन्सर बोर्ड इतिहासकै सबैभन्दा लचिलो र सहयोगी भएको दाबी गरे। उनीहरूले बोर्डका पदाधिकारी र कार्यविधि दुवै नयाँ भएको र काम गर्ने तौरतरिकामा व्यापक सुधार आएको बताउँदै १०–१५ वर्षअघिको चश्माले अहिलेको समितिलाई नहेर्न आग्रह गरे। सेन्सर बोर्डका विषयमा आएका गुनासोहरूलाई सम्बोधन गर्न र चलचित्र महोत्सवहरूलाई सफल बनाउन बोर्ड हरदम तयार रहेको उनीहरूको सामूहिक धारणा थियो।










Discussion about this post