विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ लामो समयको अन्तरालपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्। झण्डै ७ वर्षको लामो प्रेम सम्बन्ध र त्यसपछिको विछोडका कारण चर्चामा रहेका यी दुई कलाकारबीच पछिल्लो समय ‘प्याचअप’ भएको गसिपहरु चलिरहेका छन्। यही चर्चाका बीच उनीहरू अभिनित नयाँ चलचित्र ‘भाइरल गोर्खे’ प्रदर्शनको संघारमा छ, जसले गर्दा दर्शक र मिडियाको ध्यान उनीहरूतिर मोडिएको छ।
चलचित्रको विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रको कथाभन्दा बढी उनीहरूको व्यक्तिगत सम्बन्ध र विगतका प्रसङ्गहरूमा प्रश्न सोधिएको थियो। केही समयअघि ट्रेलर सार्वजनिक कार्यक्रममा सृष्टिले सौगातलाई ‘दाइ’ भनेर सम्बोधन गरेपछि सामाजिक सञ्जालमा उनी निकै ट्रोल बनेकी थिइन्। प्रेसमिटमा पत्रकारहरूले त्यही ‘दाइ’ सम्बोधनको रहस्यबारे खोतल्ने प्रयास गरेका थिए।
सृष्टिले उक्त विषयमा प्रष्टीकरण दिँदै त्यो नियोजित नभई झुक्किएर भएको बताइन्। उनले भनिन्, ‘पत्रकारले प्रश्न सोध्ने क्रममा सौगात दाइसँग काम गर्दाको अनुभव कस्तो रह्यो भनेर सोध्नुभएको थियो, त्यसैको सिको गर्दै फ्लोमा मैले पनि दाइ भन्न पुगेछु।’ उनले आफूले सौगातलाई कहिल्यै ‘दाइ’ नभन्ने र सधैँ नामले नै सम्बोधन गर्ने स्पष्ट पारिन्। सोही क्रममा उनले सौगाततिर हेर्दै ‘टङ स्लिप’ भएकोमा माफी समेत मागिन्।
सृष्टिको उक्त सम्बोधनलाई लिएर सौगात मल्ल भने निकै शान्त र सहज देखिए। उनले सृष्टिको माफीपछि प्रतिक्रिया दिँदै आफूलाई त्यो कुराले कुनै आपत्ति नभएको बताए। सौगातले भने, ‘मलाई थाहा थियो त्यो झुक्किएर भनिएको शब्द हो, तर मिडिया र मान्छेहरूले यसलाई ठूलो विषय बनाउँछन् भन्ने लख चाहिँ मैले काटेको थिएँ।’ उनले यस्ता साना गल्तीहरू सामान्य भएको भन्दै सृष्टिको बचाउ गरे।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘भाइरल गोर्खे’ आगामी माघ १ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ। सम्बन्धका उतारचढाव र ब्रेकअपपछिको सहकार्य भएकाले पनि यो चलचित्र सौगात र सृष्टिका लागि मात्र नभई उनीहरूका प्रशंसकका लागि पनि विशेष बनेको छ।










Discussion about this post