विशेष अनलाइन । देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माणमा बनिरहेको चलचित्र ‘परान’ यतिबेला पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका शेखर गोल्छाको यो चलचित्र निर्माणमा लगानी रहेको छ ।
कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेको यस चलचित्रले छायाङ्कनकै क्रममा कात्तिक १४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यद्यपि पछिल्लो समय प्रचारप्रसारमा मौन देखिएपछि चलचित्रको प्रदर्शन मितिबारे अन्योल बढेको थियो । तर, निर्देशक आचार्यले भने निर्धारित मिति कात्तिक १४ गते चलचित्र रिलिज हुने स्पष्ट पारेका छन् ।
निर्देशक आचार्यका अनुसार, “चलचित्रको पोस्ट–प्रोडक्सनको काममा व्यस्त भएका कारण हामीले बाहिर हल्ला गर्न नभ्याएका हौँ । केही दिनभित्रै फस्ट लुक पोस्टर सार्वजनिक गरेर प्रचारप्रसार सुरु गर्नेछौँ।”
‘परान’ मा नेपाली चलचित्रका दिग्गज कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठका साथै केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।
निर्माता शेखर गोल्छाले चलचित्र निर्माणको मुख्य उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताएका छन् । चलचित्रको कथावस्तु र अन्य विस्तृत जानकारी फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै निर्माण युनिटले सार्वजनिक गर्ने योजना बनाएको छ ।









Discussion about this post