विशेष अनलाइन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा दोषी ठहरिएका छन्। उनीमाथि भरत ताल निर्माण प्रकरणमा भ्रष्टाचार भएको ठहर गरिएको हो। विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला सुनाएको छ। यो फैसलापछि, उनीमाथि आधारित बायोपिक चलचित्र मेयर’ अन्योलमा परेको छ।
निर्देशक दीपेन्द्र के. खनालले खगेन्द्र लामिछानेलाई शीर्ष भूमिकामा लिएर फागुन २ गतेबाट चलचित्रको छायांकन सुरु गरेका थिए। छायांकन पूरा भइसकेको चलचित्र अहिले पोस्ट-प्रोडक्सन चरणमा रहेको थियो। तर भ्रष्टाचारको मुद्दामा थापा दोषी ठहरिएसँगै चलचित्रको भविष्य अनिश्चित बनेको हो।
चलचित्रमा निर्माता सागर मैनाली र अरविसा थापा संलग्न थिए। तर जसको जीवनमा आधारित भएर चलचित्र निर्माण गरिएको हो, उनीमाथि भ्रष्टाचारको प्रमाणित आरोपपछि निर्माण टोलिले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थमा हानि नोक्सानी पुर्याएको ठहर गरेको हो। अदालतले थापालाई १ वर्षको कैद सजायसहित बिगोअनुसार ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ।
त्यसैगरी, अदालतले मेयर थापा र उनको परिवारको आय-व्यय विश्लेषण गर्दा, आयभन्दा ३ करोड ४५ लाख रुपैयाँभन्दा बढी खर्च देखिएको उल्लेख गरिएको छ। अदालतले साउन २९ गते सजाय कार्यान्वयनको लागि पेसी तोकेको छ।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षदेखि सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माण गरिएको माछापोखरी (भरत ताल) सम्बन्धी सिलसिलाबद्ध अनुसन्धान गर्दै आएको थियो। आयोगले भ्रष्टाचार प्रमाणित हुने गरी तीनवटा मुद्दा दायर गरेको थियो।
हाल निर्देशक खनाल अर्को बायोपिक ‘क्याप्टेन साब’ को छायांकनमा व्यस्त छन् भने केही समयअघि उनी ‘हरिबहादुरको जुत्ता’ को काममा संलग्न थिए। यता ‘मेयर’को पोस्ट-प्रोडक्सनको प्रक्रिया रोकिएको अवस्थामा यस चलचित्र को सार्वजनिक प्रदर्शन हुने नहुने विषयमा अनिश्चितता छाएको छ।










Discussion about this post