विशेष अनलाइन । अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेको चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीले डबिङ गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन् । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।
अभिनेता ढुङ्गानाकै निर्माण रहेको चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओली सहित पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । नेपालले केही दिन अगाडि आफ्नो दृश्यको डबिङको काम सकेका थिए ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको चलचित्र ‘नमेटिने घाउ’ को प्रदर्शन् मिति समेत तय भएको छ । भदौ ७ गते बाट सर्वजानिक रुपमा प्रदर्शन गर्ने तयारि थलेको निर्माण टिमले जानकारि दिएका छन् ।
शिवम् अधिकारीको कथा रहेको चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल , मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायत कलाकरहरुको अभिनय रहेको छ ।
चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही को समेत अभिनय रहेको छ ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।
Discussion about this post