विशेष अनलाइन । केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले प्रदर्शनको ५१ औँ दिन मनायो । प्रदर्शन हुँदै गर्दा चलचित्रले ५१ दिन मनाउन सफल हुन्छ भन्ने सायदै कमैले सोचेका थिए । तर अन्ततः नपत्याउने खोलाले बगायो । काठमाण्डौको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हल लगायत देशका केही चलचित्र हलहरूमा चलचित्रले प्रदर्शनको ५१ दिन मनाउन सफल भएको हो।
चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार चलचित्रले १० करोडभन्दा माथि कमाउन सफल भएको छ । बोर्डको बक्स अफिस तथ्यांक अनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका चलचित्रहरूमध्ये सर्वाधिक कमाउने घरेलु चलचित्र समेत बनेको छ ।
चलचित्रले ५१ दिन मनाउँदै गर्दा चलचित्रकी कलाकार समेत रहेकी निर्मात्री केकी अधिकारीले चलचित्रको सिक्वेल बनाउने तयारीमा रहेको समेत उल्लेख गरेकी छन् । केकीले यसो भनिरहँदा चलचित्र निर्माण युनिट तथा केही कलाकारहरू समेत केकीसँग असन्तुष्टि रहेको पाइएको छ । केही समय अघि एक अन्तरवार्तामा बोल्दै चलचित्रका कलाकारहरू मध्यकी एक रमा थपलियाले केकी अधिकारीले चलचित्र सफल भएपछि कलाकारको व्यवस्था गरेको आरोप लगाएकी थिइन् ।
उनले अन्तरवार्तामा बोल्दै केकीको व्यवहारबाट आफ्नो चित्त दुखेको उल्लेख गरेकी थिइन् । यता चलचित्रले ५१ दिन मनाइरहँदा चलचित्रका लेखक तथा निर्देशक साथै कलाकार समेत रहेका सुलक्षण भारतीले केकीसँग चर्को असन्तुष्टि पोखेका छन् । यसरी हेर्दा कलाकार मात्र हैन निर्देशक र निर्माताबिचको विवाद समेत सतहमा आएको छ ।
चलचित्रको निर्देशक र लेखक भए पनि आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै निर्देशक भारतीले सामाजिक सञ्जालमा एक स्ट्याटस नै लेखेका छन् । ५१ दिनको सन्दर्भमा फेसबुकमा स्ट्याटस पोस्ट पढ्दा उनको असन्तुष्टि निर्मात्री समेत रहेकी केकी अधिकारीतर्फ नै लक्षित रहेको बुझ्न सकिन्छ ।
मलाई जुन माया दर्शकहरूले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईँहरूको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।
यहाँ आफ्नो लागि आफैँले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरू हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वाभाविक हो ?
जसले जे काम गरेको छ, त्यसको उचित मूल्याङ्कन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?
बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?
अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबिचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्याङ्कन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’
Discussion about this post