विशेष अनलाइन । शुक्रवार देशभर प्रदर्शन गर्नु अघि चलचित्र ‘मनसारा’ विराटनगरमा प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिङ मलमा प्रिमियर सकेर ‘मनसारा’ टिम विराटनगर आएको थियो । विराटनगर स्थित भाटभटेनीमा रहेको क्यूएफएक्समा आयोजित प्रिमियरमा चलचित्रका निर्देशक उपेन्द्र सुब्बा सहित अभिनेता दयाहाङ राई मिरुना मगर, प्रविण खतिवडा, हेमन्त बुढाथोकी, विजय बराल लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
चलचित्रको दोस्रो बजार पूर्व रहेको उल्लेख गर्दै पूर्वलाई केन्द्रित गर्दै विराटनगरमा प्रिमियर गरिएको चलचित्र निर्माण टिमले बतायो । प्रिमियरमा चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । चलचित्र हेर्ने अधिकांशले चलचित्र तथा कलाकारहरूको खुलेर तारिफ गरे ।
निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रले एकल महिला र निसन्तान पुरुषबिचको कथा प्रस्तुत गरेको छ । अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगरको वरिपरि घुमेको चलचित्रमा अभिनेता दयाहाङ राई र मेनुका प्रधानको पनि सशक्त अभिनय छ । गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीक विशेष भूमिकामा छन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बू मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता रहेको चलचित्र आज शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । ‘मनसरा’को अग्रिम बुकिङ बुधबारबाट नै खुला भएको थियो ।
क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । काठमाडौंमा २८ र मोफसलमा ४१ शो दिइएको हो । त्यस्तै, वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।
निर्देशक सुब्बाको यो दोस्रो चलचित्र हो । यस अगाडिको चलचित्र ‘जारी’लाई दर्शकले रुचाएका थिए ।
Discussion about this post