विशेष अनलाइन । चलचित्र र मोडलिङमा आफ्नो पहिचान बनाएकी अभिनेत्री गरिमा शर्मा अब रंगमञ्चमा डेब्यू गर्दैछिन्। उनी अभिनीत पहिलो नाटक ‘आवर्ती’ को हाल मण्डला थिएटरमा रिहर्सल चलिरहेको छ।अमेरिकाको दुई साताको भ्रमणपछि काठमाडौं फर्किएकी गरिमा केही दिनयता नाटकको अभ्यासमा ब्यस्त छिन्।“मेरो लागि यो नाटक नयाँ अनुभव हुनेछ,” उनले भनिन्, “मैले यसलाई अभिनय क्षमतालाई निखार्ने अवसरको रूपमा लिएकी छु।”
नाटक ‘आवर्ती’ लाई निर्देशक सम्राट भुजेलले निर्देशन गरिरहेका छन्। नाटकले जन्म, मृत्यु र त्यसपछिको आत्माको यात्रा तथा प्रेमको गहिरो कथा प्रस्तुत गर्नेछ। “हाम्रो लेखान्त आत्माबाटै भएर आएको हुन्छ। यो आत्माको खोजको कथा हो,” भुजेलले भने।
गरिमालाई नाटकमा ल्याउने प्रसंगमा निर्देशक भुजेलले भने, “कलाकारको ठाउँ भनेको चलचित्र, थिएटर हो। कलाकारले एक्स्प्लोर गर्ने प्लेटफर्म यही हो।” कोशा आर्ट्स र मण्डला थिएटरको सहकार्यमा तयार भएको यो नाटक ३० साउनदेखि १५ भदौसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ। नाटकमा गरिमासँगै प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलको पनि अभिनय रहनेछ।
यसअघि चर्चित चलचित्र कलाकारहरू रंगमञ्चमा देखिइसकेका छन्। रेखा थापा ‘मीरा’ नाटकमार्फत रंगमञ्चमा डेब्यू गरिन् भने, सनिशा भट्टराई ‘शिरिषको फूल’ नाटकमा सक्रिय छिन्। शिल्पा मास्केले पनि शिल्पी थिएटरमा अभिनय गरेकी थिइन्।चलचित्रबाट थिएटरतर्फ कलाकारको आकर्षण बढ्दै गएका बेला गरिमा शर्माको ‘आवर्ती’ यात्रा पनि दर्शकका लागि रुचिकर अनुभव बन्ने अपेक्षा गरिएको छ।











Discussion about this post