विशेष अनलाइन । समुन्द्र भट्ट निर्देशित कथानक चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । १०३ शो पाएको यो चलचित्रलाई विभिन्न हलमा एकसाथ रिलिज गरिएको छ।
चलचित्रले अल्पसंख्यक लैंगिक समुदायको कथा उठाएको छ। शीर्ष अभिनेता नाजिर हुसेनले यसमा पारालिंगी पात्रको चुनौतीपूर्ण अभिनय गरेका छन्। मुलुकमा एलजीबीटीआईक्यू समुदायको कथा कमै पर्दामा आउँदा, यो चलचित्र विशेष चर्चामा पर्न सक्ने अनुमान गरिएको छ।
सोसल ड्रामा जनरामा बनेको चलचित्रमा मुख्य पात्रले आफ्नो पहिचानको खोजीमा भोग्ने संघर्षलाई केन्द्रमा राखिएको छ। नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्वपूर्ण भूमिका छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि यो चलचित्रले चर्चा पाएको छ। अमेरिकास्थित बफेलो एट्लेले यसको वितरण अधिकार किनेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन (एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिक) अमेरिका मै सम्पन्न गरिएको हो।
चलचित्रमा हलिउडकी चर्चित गायिका लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका हुन्। जेरार्डले हालै रिलिज हुन लागेको ‘ग्ल्याडिएटर–२’ मा पनि स्वर दिएकी थिइन्।
१२७ मिनेट रनटाइम रहेको ‘गुन्यु चोलो : द ड्रेस’लाई नेपाली चलचित्र क्षेत्रमा फरक स्वाद दिने प्रयासको रूपमा हेरिएको छ।










Discussion about this post