विशेष अनलाइन। विश्वप्रसिद्ध संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली चलचित्र ‘गुन्युचोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गर्दै चलचित्रको प्रशंसा गरेकी छन्। ट्रेलर शेयर गर्दै उनले कथावस्तुलाई “पहिचानको खोजीमा लडिरहेको पात्रको संवेदनशील चित्रण” भनेकी छन्।
चलचित्रको निर्देशन समुन्द्र भट्टले गरेका हुन् भने संगीतमार्फत गेरार्डले पहिलोपटक नेपाली चलचित्रसँग सहकार्य गरेकी हुन्। चलचित्रको मूल संगीत मार्सेलो डे फ्रान्चिर्सले तयार गरेका हुन्, जसमा गेरार्डको आवाज समावेश गरिएको छ।
फेसबुकमार्फत गेरार्ड लेख्छिन्, “यो चलचित्र देव (गुलाबी)को कथा हो, जो एक सेवानिवृत्त सेना जनरलका छोरा हुन्। समाजले उसलाई अस्वीकार गरेपछि काठमाडौं आइ पहिचान र सम्मानको खोजी गर्छ, र ट्रान्सजेन्डर समुदायबाट अपनत्व पाउँछ।”
सामाजिक सञ्जालमा गेरार्डको पोस्टलाई सकारात्मक प्रतिक्रिया मिलेको छ, जसले चलचित्रप्रति अन्तर्राष्ट्रिय चासोसमेत बढाएको छ। ‘गुन्युचोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक समुदायको संघर्षमा आधारित सामाजिक कथानक हो। चलचित्रमा नाजिर हुसेन, संचिता लुइँटेल र विशाल पहारीले मुख्य भूमिका निर्वाह गरेका छन्।
१९८० को दशकदेखि Dead Can Dance को सह–संस्थापकको रूपमा ख्याति कमाएकी लिजा गेरार्डलाई ग्लाडिएटर (२०००) को संगीतबाट गोल्डेन ग्लोब अवार्ड प्राप्त भएको थियो। त्यसपछि The Insider, Ali, Whale Rider जस्ता चर्चित चलचित्रमा पनि उनले संगीत योगदान दिएकी छन्। उनको संलग्नताले ‘गुन्युचोलो’लाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गरेको छ। चलचित्र आगामी भदौ १३ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।










Discussion about this post