विशेष अनलाइन । चर्चित अभिनेत्री निता ढुङ्गाना अब निर्देशकको भूमिकामा देखिने भएकी छन्। निता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘पार्वती’को छायाङ्कन मंगलबारदेखि विधिवत रूपमा सुरु गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित रमणीय मिर्सा गाउँमा चलचित्रको शुभ-मुहूर्त गर्दै निर्माण टोली छायाङ्कनमा जुटेको हो।
चलचित्रमार्फत निताले निर्देशनमा मात्र पाइला टेकेकी छैनन्, उनी आफैँ मुख्य भूमिकामा समेत प्रस्तुत हुँदैछिन्। ‘पार्वती’को कथा र पटकथा पनि निता स्वयंले नै तयार पारेकी हुन्, जसलाई पटकथाकार शिवं अधिकारीले स्क्रिप्टको स्वरूप दिएका हुन्। अभिनेत्रीबाट निर्देशकका रूपमा उनको यो रूपान्तरणलाई नेपाली चलचित्र क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।
चलचित्रमा कलाकारहरूको निकै बलियो र रोचक उपस्थिति रहने देखिएको छ। निताका साथमा चर्चित निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, भाइरल गायक अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहनेछ। यसमा सरोज अधिकारी (कार्टुन क्रु) क्रियटिभ निर्देशकका रूपमा रहेका छन् भने सुदिप बरालले डिओपीको जिम्मेवारी सम्हालेका छन्।
प्राविधिक पक्षतर्फ हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता शंकर पाण्डे हुन्। साहिल खानले सम्पादन गर्ने पक्का भएको यस चलचित्रलाई उच्च स्तरीय प्रविधि र उत्कृष्ट दृश्यहरूका साथ निर्माण गर्ने टोलीको लक्ष्य छ। कलाकारहरूको ठुलो जम्बो टोली लिएर छायाङ्कनमा निस्किएको टिमले सेटबाट केही तस्बिरहरू समेत सार्वजनिक गरेको छ।
निर्माण पक्षले छायाङ्कन सुरु भएकै दिन चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ। ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने पक्का भएको छ। लामो समयपछि पर्दामा देखिन लागेकी निता र डेब्यु निर्देशनको यो संगमले दर्शकमाझ कस्तो प्रभाव पार्ने हो, त्यो भने भदौमा नै थाहा हुनेछ।









Discussion about this post