विशेष अनलाइन । विगत दुई सातादेखि पूर्वी नेपालको झापा जिल्लामा उत्साहजनक रूपमा छायाङ्कन भइरहेको चलचित्र ‘पाँच पाण्डव’ को टिममा दुई नयाँ कलाकार थपिएका छन्। निर्देशक वसन्त निरौलाले छायाङ्कनकै बीचमा अभिनेता प्रशान्त ताम्राकार र इभा गिरीलाई चलचित्रमा अनुबन्धित गराएका हुन्। आइतबारबाटै छायाङ्कन सेटमा उत्रिएका यी दुई कलाकारले आफ्नो भागको दृश्यहरू खिचाउन सुरु गरिसकेका छन्।
छायाङ्कन स्थलबाट सार्वजनिक भएका तस्वीरहरूमा प्रशान्त ताम्राकार जुँगा र शिरमा टोपीसहित निकै प्रभावशाली ‘लुक्स’ मा देखिएका छन्। अर्कोतर्फ, उदयमान अभिनेत्री इभा गिरी सेतो रङको कुर्थामा सौम्य देखिएकी छिन्। सामाजिक सञ्जालमा चर्चा कमाएकी इभाको यो दोस्रो चलचित्र यात्रा हो; उनले यसअघि ‘नमेटिने घाउ’ बाट डेब्यु गरेकी थिइन्। निर्माण पक्षले यी दुवैको भूमिकालाई भने अहिलेसम्म गोप्य नै राखेको छ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ भए तापनि यो कुनै पौराणिक वा धार्मिक कथामा आधारित नरहेको निर्देशक निरौलाले प्रस्ट पारेका छन्। उनका अनुसार यो पूर्ण रूपमा समकालीन समाजको यथार्थ घटनाक्रममा बुनिएको सामाजिक कथा हो। यस चलचित्रमा महाभारतका पाँच पाण्डवका चरित्रहरूलाई विम्बका रूपमा प्रयोग गर्दै आजको समाजको कथालाई रोचक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ।
काली रानी श्रेष्ठ निर्माता र नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रमा नेपाली रजतपतका दिग्गज कलाकारहरूको ठुलो जम्बो टोली छ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल (मुन्द्रे), आर्यन सिग्देल, महेश त्रिपाठी, सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिनेछ। सुशील पौडेलको लेखन रहेको यस चलचित्रलाई श्याम तामाङले छायांकन गरिरहेका छन् ।










Discussion about this post