विशेष अनलाइन । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘बाटुलो जून’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण युनिटले सोमबार सार्वजनिक गरेअनुसार यो चलचित्र नयाँ वर्ष २०८३ को दसैँ अन्तर्गत फूलपातीको छेको पारेर असोज ३० गते देशभर रिलिज हुनेछ । प्रदर्शन मिति तोक्नुका साथै निर्माण पक्षले चलचित्रको ‘फस्टलुक’ पोस्टर समेत सार्वजनिक गरेको छ, जसले दर्शकमाझ कौतुहलता जगाएको छ ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेका छन् । सार्वजनिक पोस्टरमा पूर्णिमाको जूनलाई पृष्ठभूमिमा राखेर ग्रामीण परिवेश झल्काउन खोजिएको छ । पोस्टरमा अनमोलले एक हातमा राँको बोकेका छन् भने अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समातेका छन्, जसले चलचित्रको प्रेमकथा र तत्कालीन समयको परिवेशलाई चित्रण गर्दछ ।
ग्रामीण परिवेशको मौलिक प्रेमकथामा आधारित यस चलचित्रलाई वरिष्ठ अभिनेता तथा निर्देशक भुवन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल र प्रिन्सीका साथै भुवन केसी स्वयम्, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपा केसी, लक्ष्मी गिरी र शारदा गिरी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । जिया केसी र भविष्य खड्का निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा तेजविक्रम केसी छन् ।
चलचित्रको लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले गरेका हुन् । चलचित्रलाई आकर्षक बनाउन काठमाडौँ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा जस्ता रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ ।










Discussion about this post