विशेष अनलाइन । गत वर्ष हलमा सफल प्रदर्शन भएको चलचित्र ‘होस्टेल ३’ अब डिजिटल प्लेटफर्ममा आउने भएको छ। बुढासुब्बा डिजिटलले यस चलचित्रको १० मिनेट लामो विशेष ट्रेलर सार्वजनिक गर्दै आउँदो शुक्रबारदेखि युट्युबमा रिलिज हुने जानकारी दिएको हो। हल प्रदर्शनको एक वर्षपछि निर्माण पक्षले यस चलचित्रलाई इन्टरनेटमा ल्याउन लागेको हो।
सशान कँडेल सन्तोषको निर्देशनमा तयार भएको यो चलचित्र विशेष गरी युवा पुस्ताको रोजाइमा परेको थियो। कलेज जीवनका भोगाइहरू, युवावस्थाको प्रेम, मित्रता र जीवनमा आइपर्ने विभिन्न धोकाका विषयवस्तुलाई चलचित्रमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ। अघिल्ला संस्करणहरू जस्तै यो चलचित्रले पनि होस्टेल जीवनको रमाइलो र उतारचढावलाई समेटेको छ।
यस चलचित्रमार्फत नेपाली सिने जगतमा नयाँ कलाकारहरूको प्रवेश भएको छ। टिकटकबाट निकै लोकप्रियता कमाएका दुई चर्चित कन्टेन्ट क्रिएटरहरू कुल ब्वाय (पारस बम) र सिम्रन पन्तले यसमा शीर्ष भूमिका निर्वाह गरेका छन्। दर्शकमाझ लोकप्रिय रहेका यी दुवै प्रतिभाका लागि यो नै पहिलो चलचित्र हो, जसको चर्चा हल रिलिजका क्रममा पनि निकै भएको थियो।
मुख्य कलाकारहरूका साथै चलचित्रमा गायन क्षेत्रबाट चर्चामा आएका ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी र आशिष घिमिरेको समेत अभिनय देख्न पाइन्छ। आशिष घिमिरे चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा हुन्। उल्लेखित सबै कलाकारहरूको यो डेब्यू चलचित्र भएकोले पनि यसलाई युवा दर्शकले निकै चासोका साथ हेरेका थिए।
कलेज र युवा पुस्ताको कथामा बनेका चलचित्रलाई सधैं माया गर्ने दर्शकका लागि अब ‘होस्टेल ३’ घरमै बसेर हेर्ने अवसर मिलेको छ। अघिल्लो वर्ष हलमा सुपरहिट सावित भएको यो चलचित्रले युट्युबमा पनि राम्रो दर्शक पाउने अपेक्षा निर्माण पक्षले राखेको छ।









Discussion about this post