विशेष अनलाइन । यस वर्षको बहुचर्चित नेपाली चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको ५१ औं दिन पूरा गर्दै व्यावसायिक सफलताको नयाँ उचाइ छोएको छ। गत आइतबार प्रदर्शनको ५१ औं दिन पार गरेको अवसरमा निर्माण पक्षले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी कलाकार तथा प्राविधिकहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ। निर्देशक चन्द्र पन्तका अनुसार यो चलचित्रले देशका २० भन्दा बढी हलहरूमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएको हो।
व्यावसायिक हिसाबले यो चलचित्र यस वर्षकै एक सफल कृत्ति बनेको छ। वितरक कम्पनी आरआर फिल्म्सका अनुसार चलचित्रले हालसम्म करिब साढे १३ करोड रुपैयाँको व्यापार गरिसकेको छ भने चलचित्र विकास बोर्डको तथ्याङ्कमा यसको कलेक्सन १३ करोड १० लाखको हाराहारीमा देखिएको छ। प्रचारप्रसार सहित कुल २ करोडको लागतमा निर्माण भएको यस चलचित्रबाट निर्माताले करिब ५ करोड रुपैयाँसम्म सेयर प्राप्त गर्ने अनुमान गरिएको छ। यो सफलतासँगै यो चलचित्र ‘परान’ पछि यस वर्ष १३ करोडभन्दा बढी कमाउने दोस्रो चलचित्र बनेको छ।
‘आ बाट आमा’को यो अभूतपूर्व सफलतासँगै निर्माण टोलीले यसको दोस्रो भाग (सिक्वेल) निर्माणको घोषणा समेत गरिसकेको छ। अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा यसको दोस्रो शृङ्खला निर्माण गर्ने औपचारिक जानकारी दिइएको थियो। आगामी दशैंलाई लक्षित गरी निर्माण गरिने यस चलचित्रमा पनि पल शाह मुख्य भूमिकामा रहनेछन् भने चर्चित अभिनेत्री विपना थापाको पनि दोहोरिने सम्भावना प्रवल रहेको छ।
पारिवारिक संवेदना र बाबुआमा तथा छोराको सम्बन्धको कथा बोकेको यस चलचित्रमा पल शाह र विपना थापासँगै प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। निर्देशक चन्द्र पन्त स्वयंको कथा तथा पटकथा रहेको यस चलचित्रको संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र पन्तले सहकार्य गरेका छन्।









Discussion about this post