विशेष अनलाइन । चलचित्र ‘लालीबजार’को नयाँ प्रदर्शन मिति तय गरिएको छ। निर्माताले बुधबार एक टिजर सार्वजनिक गर्दै यो चलचित्र अब आगामी वैशाख १८ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शन हुने घोषणा गरेका हुन्। यसअघि यो चलचित्र फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारी थियो।
प्रदर्शन मिति हेरफेर गर्नुको मुख्य कारण फागुन २१ गते हुन लागेको चुनावलाई मानिएको छ। निर्वाचनको माहोलले चलचित्रको व्यवसायमा असर पार्न सक्ने भन्दै निर्माताहरूले रिलिजलाई झन्डै दुई महिना पछाडि सारेका हुन्।
सार्वजनिक गरिएको टिजरले चलचित्रको गम्भीर कथावस्तु र पात्रहरूको चरित्र चित्रणबारे प्रस्ट पारेको छ। टिजरमा बाध्यताले यौनकर्ममा होमिनु परेकी एक युवतीको राजपरिवारका सदस्यसँगको सम्बन्ध र समाजमा व्याप्त ‘नत्थी प्रथा’लाई केन्द्रमा राखिएको छ। विशेषगरी बादी समुदायका महिलाहरूको जीवन संघर्ष र गरिबीका कारण भोग्नुपर्ने सामाजिक बहिष्कारको विषयलाई यसले उठाएको देखिन्छ।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ र मुकुन्दकुमार श्रेष्ठको प्रमुख भूमिका छ। त्यस्तै, अभय बराल, आशा पौडेल र गोविन्द सुनार लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय यात्रा सुरु गरेका छन्।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन्। सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन र प्रकाश सपूत, खेम सेन्चुरी एवं जयन जे वाइवाको संगीत रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक थापालाई प्रदीप भट्टराईले साथ दिएका छन्।









Discussion about this post