विशेष अनलाइन । ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा मङ्गलवार साँझ चलचित्र ‘बिगुल’ को प्रिमियर शो भव्यताका साथ सम्पन्न भएको छ। आगामी शुक्रबारबाट देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रले प्रिमियरमा उपस्थित राजनीतिज्ञ, वरिष्ठ कलाकार र पत्रकारहरूको मन जित्न सफल भयो। वर्तमान नेपाली राजनीति र ‘जेनजी’ (Gen Z) पुस्ताको आन्दोलनलाई मुख्य विषय बनाएको यो चलचित्र हेरेपछि अधिकांशले यसलाई समय सान्दर्भिक र यथार्थपरक दस्ताबेजको रूपमा प्रशंसा गरे।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ‘बिगुल’ लाई एउटा ‘जोसिलो र होसिलो’ चलचित्रको संज्ञा दिनुभयो। उहाँले अहिलेको चुनावी माहोल र राजनीतिक सरगर्मीलाई पर्दामा हुबहु उतारिएको भन्दै यो कथाले युवा पुस्ताको विद्रोहलाई ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चलचित्र हेरेपछि निकै भावुक भएका थिए ।मेयर महर्जनले आफ्नै राजनीतिक सङ्घर्षका पुराना दिनहरू सम्झिदै एउटा इमानदार नेताले आफ्नै पार्टीभित्र भोग्नुपर्ने धोका र षडयन्त्रको जीवन्त चित्रणले आफूलाई प्रभावित पारेको बताए ।
चलचित्रमा राजनीतिलाई केवल पेसा नभई एउटा जिम्मेवारी र चेतनाको रूपमा प्रस्तुत गरिएको छ। निर्देशक सवीर श्रेष्ठले यो चलचित्रले जनतामा राजनीतिक चेतना भर्ने र नेताहरूलाई जिम्मेवार बनाउने बताए। अभिनेता पुष्प खड्का र अभिनेत्री बेनिशा हमालले देशको वर्तमान परिस्थितिसँग कथा मिल्दोजुल्दो भएकाले दर्शकले आफूलाई चलचित्रसँग जोड्न सक्ने विश्वास व्यक्त गरे। अभिनेत्री हमालले राजनीतिक विषयको चलचित्रमा काम गर्नु आफ्नो लागि नयाँ र सुखद अनुभव व्यक्त गरिन् ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, सरोज खनाल, शिशिर वाङ्देल र मिरा पण्डितको अभिनय रहेको छ। कांग्रेस नेता दिनेश कोइरालाले निर्माण गरेको यसमा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको लेखन, शिव ढकालको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ।









Discussion about this post