विशेष अनलाइन । आगामी महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ ले आफ्नो देशव्यापी प्रचार अभियानलाई तीव्रता दिएको छ। पूर्वदेखि पश्चिमसम्मका प्रमुख सहरहरूमा दर्शकको मन जित्दै चलचित्रको निर्माण टोली मंगलबार राजधानी फर्किएको छ। करिब एक साता लामो पश्चिम नेपालको भ्रमणका क्रममा टोलीले बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज र पोखरामा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो।
पश्चिमको यात्रा तय गर्नुअघि टोलीले विराटनगर, इटहरी, धरान, दमक र विर्तामोड जस्ता पूर्वी सहरहरूका साथै हेटौंडा र चितवनमा पनि भव्य प्रचार कार्यक्रम सम्पन्न गरेको थियो। नेपाल जेसीजको विशेष सहयोगमा सञ्चालित यस मोफसल अभियानमा निर्देशक रमेश कोइराला, निर्माता तथा कथाकार दिनेश कोइराला र अभिनेता नरेन खड्काको सक्रिय सहभागिता रहेको थियो। आम मानिसको भावना समेटिएको यस चलचित्रप्रति मोफसलका दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिएको टोलीले जनाएको छ।
निर्देशक कोइरालाका अनुसार ‘बिगुल’ ले भुइँमान्छेको कथालाई प्राथमिकतामा राखेको छ। देशको वर्तमान राजनीतिक अस्थिरता, पारिवारिक जिम्मेवारी र युवा पुस्तामा देखिने विद्रोही चेतलाई पर्दामा निकै यथार्थपरक ढंगले उतारिएको छ। राजनीतिक खिचातानीका बीच एउटा सामान्य नागरिकले भोग्नुपर्ने यथार्थलाई समेटिएकाले पनि यस चलचित्रप्रति दर्शकको चासो र उत्साह उच्च देखिएको निर्माण पक्षको दाबी छ।
कल्पना पौडेलको प्रस्तुति रहेको यस चलचित्रमा नरेन खड्का र बेनिशा हमालको मुख्य भूमिका रहेको छ। साथमा रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी जस्ता दिग्गज कलाकारहरूको सशक्त अभिनय रहनेछ। प्रदीप भारद्वाज र मौनता श्रेष्ठको लेखन, शिव ढकालको छायांकन तथा तारा थापा (किम्भे) को सम्पादन रहेको यो चलचित्र फागुन १ गतेबाट देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुँदैछ।









Discussion about this post