विशेष अनलाइन । प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्र ‘द ब्ल्यु लाइट’ को निर्माण टोलीले आफ्नो प्रचार प्रसारलाई देशव्यापी बनाएको छ । यसै क्रममा मंगलबार इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहायक निर्माता भोलानाथ कटुवालले यो चलचित्र केवल मनोरञ्जन मात्र नभई समाजको गम्भीर यथार्थको ऐना भएको बताए । श्रीमान्-श्रीमतीबीचको सामान्य लाग्ने कलहले बालबालिकाको मस्तिष्कमा कस्तो गहिरो र नकारात्मक प्रभाव पार्छ भन्ने कथालाई यस चलचित्रले प्रमुखताका साथ उठाएको छ ।
चलचित्रको मुख्य आकर्षणको रूपमा रहेकी बाल कलाकार गृष्मा कटुवालले कार्यक्रममा आफ्नो अभिनय यात्रा र अनुभव साझा गरिन् । ‘बलिदान’ पछि यो उनको दोस्रो चकचित्र हो । वास्तविक जीवनमा पारिवारिक स्नेहमा हुर्किएकी गृष्माले पर्दामा पीडादायी र एक्लो महसुस गर्ने बालिकाको भूमिका निभाउनु निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले आफ्नो भूमिकालाई न्याय गर्न भावनात्मक गहिराइ बुझेर निकै मिहिनेत गरेको र भविष्यमा सफल अभिनेत्री बन्ने आफ्नो सपना रहेको सुनाइन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा बेनिशा हमाल र अर्पण थापाको मुख्य अभिनय रहेको छ । सार्वजनिक पोस्टर र ट्रेलरका कारण कतिपयले यसलाई ‘हरर’ विधाको चकचित्र ठाने पनि यो विशुद्ध पारिवारिक सम्बन्ध र बाल मनोविज्ञानमा आधारित रहेको निर्माण पक्षले स्पष्ट पारेको छ । चलचित्रमा आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी जस्ता स्थापित कलाकारहरूको समेत सशक्त अभिनय देख्न सकिनेछ ।
चलचित्रमा बेनिशा हमाल र नरेन्द्र मैनाली कार्यकारी निर्माताका रूपमा रहेका छन् । आकाश उखेडाको मुख्य सहायक निर्देशन र दिलीप पन्तको निर्माण नियन्त्रण रहेको यस चकचित्रले दर्शकलाई हलबाट निस्किएपछि पनि एउटा गम्भीर सन्देश लिएर जान बाध्य बनाउने विश्वास लिइएको छ ।
शहीद दिवसको अवसर पारेर यही माघ १६ गते शुक्रबारदेखि चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुँदैछ । पारिवारिक सम्बन्धको महत्त्व र ससाना बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य राखेको यो चलचित्रले नेपाली दर्शकलाई निराश नबनाउने सहायक निर्माता कटुवालले दाबी गरे ।









Discussion about this post