विशेष अनलाइन । वसन्तपञ्चमी तथा सरस्वती पूजाको विशेष अवसर पारेर बहुप्रतिक्षित चलचित्र ‘रोल नम्बर १’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका बालकलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पथिक ज्ञान निकेतन’ पुगेर औपचारिक रूपमा रिलिज मिति घोषणा गरेको हो। जसअनुसार यो चलचित्र आगामी १५ जेठ, २०८३ देखि दर्शकमाझ आउने तय भएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रले बाल मनोविज्ञानलाई मुख्य विषयवस्तु बनाएको छ। निर्माता विनोद पौडेलका अनुसार जेठ १५ गतेदेखि यो चलचित्र स्वदेशका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ। म्याग्दीका सुन्दर ग्रामीण र रमणीय भेगहरूमा छायांकन गरिएको यस चलचित्रले मौलिक परिवेश र बालबालिकाको भावनालाई पर्दामा उतारेको छ।
चलचित्रमा स्थापित कलाकारहरू मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ। यसका साथै बालकलाकारहरू निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले चलचित्रमा सशक्त भूमिका निर्वाह गरेका छन्। चलचित्रमा महेश दवाडीको पटकथा रहेको छ ।
विनोद पौडेल र गुञ्जन गिरीको निर्माण तथा रमेश चौलागाईं कार्यकारी निर्माता रहेको यो चलचित्रले शिक्षा र समाजको एउटा महत्वपूर्ण पाटोलाई समेटेको छ। विद्यालयमै पुगेर प्रदर्शन मिति घोषणा गरिनुले पनि चलचित्रको कथावस्तु बालबालिकासँग कति नजिक छ भन्ने कुरालाई प्रस्ट पारेको छ।









Discussion about this post