विशेष अनलाइन । ऐतिहासिक सफलता हात पारेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली पुनः एकसाथ पर्दामा देखिने भएका छन्। सारंगी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ का लागि यी दुई कलाकारलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हो। शुक्रबार सरस्वती पूजाको शुभ अवसर पारेर निर्माण पक्षले चलचित्रको औपचारिक घोषणा गरेको छ।
विशेष रोचक पक्ष के छ भने, यस चलचित्रलाई पनि ‘पूर्णबहादुरको सारंगी’ का सफल निर्देशक सरोज पौडेलले नै निर्देशन गर्दैछन्। ४६ करोडभन्दा बढीको कीर्तिमानी व्यापार गरेको अघिल्लो चलचित्रपछि निर्देशक पौडेल र यो हिट जोडीको दोस्रो सहकार्यलाई चलचित्र वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्देशक पौडेलका अनुसार कलाकारको लोकप्रियता भन्दा पनि कथाको मागअनुसार नै विजय र अञ्जनालाई छनोट गरिएको हो।
चलचित्रको शीर्षक ‘सिन्दुरे जात्रा’ भए तापनि यो पूर्ण रूपमा जात्राकै विषयमा मात्र आधारित भने रहने छैन। निर्देशक पौडेलले यस बारे प्रस्ट पार्दै भनेका छन्, “यो नामले जात्राको छनक दिए पनि र कतै न कतै कथा जोडिए पनि, चलचित्रले सिन्दुरे जात्राको मात्र कथा भन्ने होइन।” चलचित्रका अन्य पात्रहरूका लागि अहिले चरित्र सुहाउँदो कलाकारहरूको खोजी भइरहेको र छिट्टै टिम पुरा गरिने जानकारी उनले दिएका छन्।
यो चलचित्रको छायांकन आगामी जेठ महिनादेखि सुरु गर्ने लक्ष्य राखिएको छ। ‘वेलकम टु हेम्जाकोट’ र हालै प्रदर्शनमा आएको ‘कोशेढुंगा’ पछि यो निर्देशक पौडेलको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ। आफ्नो अघिल्लो चलचित्रले सिर्जना गरेको सफलताको उचाईलाई कायम राख्न निर्देशक पौडेल यसपटक पनि विशेष तयारीका साथ मैदानमा उत्रिएका छन्।










Discussion about this post