विशेष अनलाइन । नेपालभर भाद्र २७ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ को प्रचार–प्रसार यात्रा कोशी प्रदेशको इटहरीबाट सुरु भएको छ। सोमबार साँझ ईलाइट सिनेमामा पत्रकार भेटघाट गर्दै टिमले चलचित्रबारे विस्तृत जानकारी दिएको हो।
कार्यक्रममा अभिनेता कामेश्वर चौरसिया र किरण श्रेष्ठसहित मिडिया कोअर्डिनेटर पवन भट्टराईको उपस्थिति रहेको थियो। प्रदेशभरका इटहरी, धरान, विराटनगर, दमक र विर्तामोडका पत्रकारहरूको सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा अभिनेता चौरसियाले दर्शकको निरन्तर माया र समर्थनले आफूलाई मुख्य भूमिकासम्म पुर्याएको बताए। उनले ‘अभिमन्यु’ मधेसको कथामा आधारित सस्पेन्स क्राइम थ्रिलर भएकाले रोचक अनुभव दिलाउने विश्वास व्यक्त गरे।
हालै ट्रेलर सार्वजनिक कार्यक्रममा उठेको “नचलेका कलाकार” विवादबारे प्रश्न सोधिँदा उनले कलाकारको करियरलाई मापन गर्ने कुनै निश्चित आधार नहुने बताए। उनका अनुसार आज लोकप्रिय हुने कलाकार भोलि ढिलोचाँडो असफल हुनसक्छ, त्यसैले यस्तो प्रश्न सोध्नु नै गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे। त्यसैगरी अभिनेता किरण श्रेष्ठले ट्रेलरले दिएको स्वाद पर्याप्त रहेको भन्दै दर्शकले वास्तविक रहस्य चलचित्र रिलिजपछि मात्र पाउने बताए। उनले भाद्र २७ गते हलसम्म पुगेर चलचित्र हेर्न आग्रह गरे।
इटहरीबाट सुरु भएको प्रचार अभियान भदौ १७ गते जनकपुर, १८ गते वीरगन्ज र हेटौडा, १९ गते चितवन हुँदै काठमाडौंसम्म पुग्ने टिमले जनाएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। अपहरण, पैसाप्रतिको मोह र त्यसबाट सिर्जित त्रासदीलाई चलचित्रको मूल पृष्ठभूमि बनाइएको छ।
कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको चलचित्र नेपालमा भदौ २७ गते रिलिज हुने छ भने हिन्दी संस्करण असोज ६ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।










Discussion about this post