विशेष अनलाइन । लक्ष्मण सुनारको निर्देशनमा तयार पारिएको चलचित्र ‘परालको आगो’ को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको यो तेस्रो गीत हो। युवायुवतीबीचको प्रेम, आकर्षण र नोकझोंकलाई रोचक ढंगले प्रस्तुत गरिएको यस गीतमा गायक सत्यराज आचार्य र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको सांगीतिक पक्षलाई सत्यराज र स्वरूपराज आचार्यले निखारेका छन् भने शब्द रचना सुरेन्द्र रानाको रहेको छ। गाउँघरमा परम्परागत शैलीमा हुने विवाहको रमाइलो परिवेशलाई गीतको भिडियोमा उतारिएको छ। भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ, जसलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।
हरिओम सिने मेकर्सको ब्यानरमा सुशील पोखरेलको लगानी रहेको यस चलचित्रमा किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको यस चलचित्रले ग्रामीण जनजीवनको यथार्थलाई पर्दामा ल्याउने प्रयास गरेको छ।
विशेषगरी आधुनिक नेपाली कथाका प्रणेता गुरुप्रसाद मैनालीको प्रसिद्ध कृति ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएकाले पनि यो चलचित्र चर्चामा छ। संकल्प भुजेलको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा शान्ती ठटाल, सत्य-स्वरूप र प्रकाश सपूतको संगीत छ।










Discussion about this post