विशेष अनलाइन । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’ को अग्रिम टिकट बिक्री बुधबारदेखि देशभर खुल्ला गरिएको छ। देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलहरूले चलचित्रका लागि टिकट बुकिङ सुरु गरेका हुन्। प्रदर्शनअघि नै यस चलचित्रले देशभर करिब १४० शोज पाउनुले दर्शकमाझ यसको उच्च माग र चर्चालाई पुष्टि गरेको छ।
माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको यो एक्सन-ड्रामा चलचित्र रहस्य, बदला र अपराधको कथामा आधारित छ। चलचित्रको कथा र प्रस्तुति निकै फरक रहेकाले दर्शकले नयाँ अनुभव पाउने निर्माण पक्षको दाबी छ। विशेषगरी देशमा बढ्दो भ्रष्टाचार, माफिया समूह र विदेशी शक्तिको प्रभावका विरुद्ध ‘अगुआ’ नामको एक पात्रले चाल्ने कदमलाई यस चलचित्रमा मुख्य आकर्षण बनाइएको छ।
यस चलचित्रमा एक्सन स्टार विराज भट्ट मुख्य भूमिकामा देखिँदैछन्। उनीसँगै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रमा एक रहस्यमय पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीहरूलाई कारबाही गर्ने र घटनास्थलमा एउटा विशेष चिन्ह छोड्ने कथावस्तुले दर्शकमा उत्सुकता जगाएको छ।
कुल १६० मिनेटको रनटाइम रहेको यस चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी’ (PG) सर्टिफिकेट प्राप्त गरेको छ। यसको अर्थ, बालबालिकाले अभिभावकको निगरानीमा मात्र यो चलचित्र हेर्न पाउनेछन्।










Discussion about this post