विशेष अनलाइन । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक परिवेश, नेतृत्व परिवर्तन र जातीय समानताका विषयमा आफ्नो महत्त्वपूर्ण धारणा सार्वजनिक गर्नुभएको छ। पछिल्लो समय देशले युवा नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले परिवर्तनको लहर सन् २०८४ को निर्वाचनमा मात्र नभई अहिले नै देखिन थालेको टिप्पणी गर्नुभएको छ। श्रेष्ठले हालै संसद्मा रवि लामिछानेले दिएको सम्बोधनलाई परिपक्व र गहन भन्दै यसले देशलाई नयाँ दिशातर्फ लैजाने विश्वास व्यक्त गर्नुभएको छ।
मदनकृष्णका अनुसार, उक्त सम्बोधनले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई सम्मान गर्दै अब नयाँ पुस्ताले भविष्यको जिम्मेवारी सम्हाल्ने स्पष्ट सन्देश दिएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आवेगभन्दा पनि संयमता र धैर्यताका साथ अगाडि बढ्न सुझाव दिनुभएको छ। पुराना पुस्ताको अनुभव र नयाँको जोस मिलेर मात्र देशले सही गति लिने उहाँको तर्क छ।
सामाजिक न्यायको प्रसंगमा श्रेष्ठले दलित समुदायप्रति लामो समयदेखि हुँदै आएको अन्याय र विभेदका लागि माफी माग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। संसद्मा दलित समुदायसँग माफी मागिएको प्रसङ्गलाई उदाहरणीय कदम भन्दै उहाँले आफू पनि यसबाट प्रभावित भएको बताउनुभएको छ। श्रेष्ठले लेख्नुभएको छ, “मैले व्यक्तिगत रूपमा सबैलाई समान व्यवहार गरे पनि मेरा पूर्खाबाट विगतमा कुनै अपमानजनक व्यवहार भएको हुन सक्छ, त्यसका लागि म क्षमा चाहन्छु।”
समाजलाई अझ सभ्य र मानवीय बनाउन “दलित” र “अछुत” जस्ता विभेदकारी शब्दहरूको प्रयोग नै बन्द गर्नुपर्ने उहाँको सुझाव छ। जातीय विभेदलाई ‘असभ्य र अमानवीय’ व्यवहारको रूपमा व्याख्या गर्दै श्रेष्ठले यस्तो सङ्कुचित सोचबाट माथि उठ्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रियताको मूल आधार नै पारस्परिक संवेदना र एकता भएकोमा जोड दिनुभएको छ।
आफ्नो धारणाको अन्त्यमा उहाँले चर्चित चलचित्र ‘१५ गते’ को गीत सम्झिँदै भन्नुभएको छ— “चोट मलाई पर्दा तिम्रो ज्यान दुख्छ भने, त्यही नै नेपाली राष्ट्रियताको चिन्ह हो।” जातीय एकता र आपसी सद्भावले मात्र राष्ट्रियता बलियो हुने र समाज विकासको बाटोमा अघि बढ्ने मदनकृष्णको निष्कर्ष रहेको छ।











Discussion about this post