विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रकी चर्चित निर्देशक तथा अभिनेत्री झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलोपटक एउटै चलचित्रमा अभिनय गर्ने भएका छन्। यसअघि होमप्रोडक्सनका चलचित्रहरूमा सहकार्य गरे तापनि अभिनयमा भने उनीहरू पहिलोपटक ‘बा : एक योद्धा’ मार्फत एकसाथ देखिन लागेका हुन्। दुई सातादेखि काठमाडौंका विभिन्न स्थानमा भइरहेको छायांकनका क्रममा झरना र सुहाना दुवै व्यस्त रहेको बुझिएको छ।
गत ९ चैतदेखि पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै यो चलचित्रको छायांकन सुरु गरिएको थियो। ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रले नेपाली समाजको मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ। निर्माताले कलाकारको नाम गोप्य राख्ने प्रयास गरे पनि हाल छायांकन स्थलबाट झरना र सुहानाको सहकार्य सार्वजनिक भएको हो।
यस चलचित्रबाट चर्चित संगीतकार हरि लम्सालले फिचर चलचित्रको निर्देशनमा डेब्यू गर्दैछन्। संगीत क्षेत्रमा स्थापित भइसकेका लम्साल स्वयंले यसको पटकथा समेत लेखेका हुन्। उनको निर्देशकीय क्षमता र दृष्टिकोणलाई लिएर दर्शकमाझ निकै उत्सुकता र प्रतीक्षा देखिएको छ। सामाजिक र भावनात्मक विषयवस्तुमा आधारित रहेर यो चलचित्र निर्माण भइरहेको निर्देशक लम्सालले बताएका छन्।
चलचित्रको शीर्षकले सङ्केत गरेझैँ, यसले परिवारमा ‘बुवा’को महत्त्व र भूमिकालाई केन्द्रमा राखेको छ। सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि एक पिताले गर्ने त्याग, जीवनभर झेल्ने चुनौती र सङ्घर्षलाई चलचित्रले पर्दामा उतार्नेछ। यस चलचित्रका लगानीकर्ता वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
शिवराम श्रेष्ठको छायांकन र तारा नाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मिति भने छायांकन सकिएपछि मात्र घोषणा गरिने जनाइएको छ।










Discussion about this post