विशेष अनलाइन । विद्यालय जीवनको एउटा महत्त्वपूर्ण अध्याय ‘एसईई’ सकेर नतिजाको पखाईमा रहेका छात्राहरूलाई लक्षित गर्दै इटहरीमा ‘मिस एसईई सिजन ६’ आयोजना हुने भएको छ। परीक्षापछिको यो लामो फुर्सदको समयमा विद्यार्थीहरू प्रायः मोबाइल र इन्टरनेटको संसारमा झुण्डिने गर्छन्। उनीहरूलाई त्यस्तो निष्क्रिय दिनचर्याबाट बाहिर निकालेर रचनात्मक र उपलब्धिमूलक कार्यमा संलग्न गराउने उद्देश्यका साथ ‘ओपन स्पेस प्रालि’ले यस प्रतियोगितालाई निरन्तरता दिन लागेको हो।
विगतका ५ वटा संस्करणहरू भव्य रूपमा सम्पन्न गरिसकेको आयोजकले यसपटकको छैठौँ संस्करणका लागि यही चैत २८ गते शनिबारको मिति तय गरेको छ। इटहरीस्थित मादेन इन होटलमा हुने अडिसनबाट योग्य प्रतिस्पर्धीहरू छनोट गरिनेछ। प्रतियोगिता केवल एउटा ताज पहिरिने होड मात्र नभई, उच्च शिक्षाको यात्रा सुरु गर्नुअघि छात्राहरूलाई मानसिक रूपमा बलियो बनाउने र उनीहरूको प्रतिभालाई निखार्ने एउटा विशेष कार्यशालाको रूपमा रहने निर्देशक सरोज श्रेष्ठ बताउँछन्।
प्रतियोगिताको अवधिभर सहभागी किशोरीहरूलाई जीवनका विभिन्न क्षेत्रमा काम लाग्ने व्यावहारिक तालिमहरू प्रदान गरिनेछ। जसमा समाज र आफ्नो करियरलाई सही दिशा दिन सक्ने नेतृत्वदायी क्षमताको विकास गर्ने मुख्य लक्ष्य राखिएको छ। यसका साथै, आफ्नो आन्तरिक र बाह्य व्यक्तित्वलाई कसरी प्रभावशाली बनाउने र हजारौँको भिडमा पनि बिना हिचकिचाहट आफ्ना स्पष्ट विचार र तर्कहरू राख्ने कलाका बारेमा विज्ञहरूले प्रशिक्षण दिनेछन्।
आयोजक कम्पनीकी सीईओ सजिना श्रेष्ठका अनुसार प्रतिस्पर्धीहरूलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुन आवश्यक पर्ने व्यावसायिक शैली र हाउभाउको बारेमा पनि विशेष कक्षा सञ्चालन गरिनेछ। यसले गर्दा उनीहरूमा मञ्चको डर हट्ने र समाजमा आफूलाई निर्धक्कसँग प्रस्तुत गर्न सक्ने क्षमताको विकास हुने आयोजकको विश्वास छ। किशोरीहरूमा लुकेको सुसुप्त प्रतिभालाई प्रस्फुटन गराउन यो मञ्च एउटा उपयुक्त थलो बन्ने देखिएको छ।
यसपटकको प्रतियोगितालाई थप स्तरीय र ग्ल्यामरस बनाउन आयोजकले विशेष तयारी गरेको छ। सहभागीहरूलाई व्यावसायिक प्लेटफर्मको वास्तविक अनुभव दिलाउन इटहरीस्थित प्रतिष्ठित पाँचतारे होटल ‘रामडा बाइ विन्डहाम’ मा विशेष फोटोसुट र भिडियोसुटको व्यवस्था गरिएको छ। यस्ता गतिविधिले उनीहरूमा नयाँ ऊर्जा भर्ने र व्यावसायिक क्षेत्रको कार्यशैलीका बारेमा नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ।
कलिलो उमेरमै आफ्नो वास्तविक क्षमता पहिचान गर्न र समाजमा आफूलाई अब्बल सावित गर्न चाहनेहरूका लागि ‘मिस एसईई’ एउटा मजबुत पुलको रूपमा उभिएको छ। आफ्नो पढाइलाई निरन्तरता दिँदै अतिरिक्त क्रियाकलापमार्फत नयाँ र फराकिला अवसरहरूको खोजी गर्न चाहने छात्राहरूका लागि यो प्रतियोगिता एउटा उत्कृष्ट प्लेटफर्म साबित हुने निश्चित छ। यस प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ बराबरको विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्ने आयोजकले जनाएको छ।










Discussion about this post