विशेष अनलाइन । माइकल चन्दको निर्देशन तथा लेखनबाट तयार भएको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत २७ गते नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन लागेको यस चलचित्रको ट्रेलरले विशेषगरी एक्सन विधालाई रुचाउने दर्शकहरूलाई केन्द्रित गरेको देखिन्छ। काठमाडौंमा आयोजित कार्यक्रममा ३ मिनेट लामो ट्रेलरमा सामाजिक अन्याय र त्यसको प्रतिशोधको कथालाई मुख्य आधार बनाइएको छ।
चलचित्रमार्फत अभिनेता विराज भट्टले फेरि एकपटक आफ्नो एक्सन अवतारलाई पर्दामा सशक्त रूपमा उतारेका छन्। ट्रेलरमा उनलाई पश्चिमेली लवजमा बोल्ने एक गम्भीर पात्रका रूपमा देखाइएको छ, जो आफ्नी श्रीमती (सुपुष्पा भट्ट) को हत्याको बदला लिन भिलेनहरूसँग भिडिरहेका छन्। विराज र सुशील श्रेष्ठबीचको द्वन्द्वका दृश्यहरूले चलचित्रमा उच्च स्तरको एक्सन र ड्रामा हुने संकेत गरेका छन्।
कथानकको हिसाबले यो चलचित्रले सुन, पैसा र वन्यजन्तुको अवैध तस्करी जस्ता गम्भीर विषयलाई उठान गरेको छ। यसै पृष्ठभूमिमा पारिवारिक भावना र प्रेमलाई पनि सँगसँगै बुनिएको छ। अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्धलाई ट्रेलरमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ, जहाँ दिव्याले विराजको छोरीको भूमिका निर्वाह गरेकी छन्। साथै, स्व. सुनिल थापाको भिलेन अवतारले ट्रेलरलाई थप रहस्यमय बनाएको छ।
मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। चलचित्रमा आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, दिनेश डिसी जस्ता कलाकारहरूको पनि महत्वपूर्ण अभिनय छ। हाल चर्चामा रहेको ‘धागोले बाटेको’ गीतले चलचित्रको सांगीतिक पक्षलाई पहिले नै बलियो बनाइसकेको छ। बन्दे प्रसादको सम्पादन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।










Discussion about this post