विशेष अनलाइन । जौन योञ्जनले निर्देशन गरेको नेपाली चलचित्र ‘आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने प्रसिद्ध ‘वर्ल्ड फेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल’को ‘रेमी अवार्ड’ का लागि मनोनीत भएको छ। विश्वभरका उत्कृष्ट सिर्जनाहरू सहभागी हुने यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासमा आयोजना हुँदैछ। यसअघि पनि यस चलचित्रले ६२औँ एसिया प्यासिफिक फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको छ।
यो चलचित्रले विशेष गरी सुकुम्वासी बस्तीमा बसोबास गर्ने सामान्य मानिसहरूको जीवन, उनीहरूको दैनिक सङ्घर्ष र सामाजिक यथार्थलाई निकै गहिरो गरी पर्दामा उतारेको छ। सुकुम्वासी बस्तीकै सेरोफेरोमा गरिएको यथार्थपरक छायाङ्कन र त्यहाँको मौलिक परिवेशले गर्दा नै यस चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा विशेष मानिएको हो। चलचित्रको दृश्य निर्माण र छायाङ्कन शैलीले दर्शकलाई वास्तविक समाजको कथासँग जोड्न सफल भएको छ।
सन् १९६१ मा स्थापना भएको ह्युस्टन फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सव मध्ये एक हो। स्टिभन स्पिलबर्ग र जर्ज लुकास जस्ता विश्वप्रसिद्ध हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवाती दिनमा यही महोत्सवबाट अवार्ड जितेका थिए। यस्तो ऐतिहासिक मञ्चमा नेपाली चलचित्र ‘आँखा’ मनोनीत हुनुले नेपाली चलचित्र क्षेत्रको बढ्दो स्तरलाई दर्शाउँछ।
यस चलचित्रमा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल र बुद्धि तामाङ जस्ता पोख्त कलाकारहरूको सशक्त अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय र निर्देशकको कलात्मक सोचले गर्दा नै चलचित्रले सुकुम्वासी बस्तीको कथालाई विश्वस्तरमा पुर्याउन सकेको हो। नेपालमा २०८१ सालको असारमा प्रदर्शन भएको यो चलचित्रले त्यति बेलै समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो।









Discussion about this post