विशेष अनलाइन । विगत ७ वर्षदेखि सुनसरीको इटहरीलाई आफ्नो मुख्य रङ्गमञ्चीय कर्मथलो बनाएका प्रखर कलाकार डेभिड बिष्ट अब नेपाली चलचित्र क्षेत्रमा बलियो उपस्थितिको तयारीमा जुटेका छन्। रङ्गमञ्चमा आफ्नो बेग्लै पहिचान बनाएका डेभिड निर्देशक प्रकाश कर्णको आगामी बहुप्रतिक्षित चलचित्र ‘जुबा’ का लागि एक निकै महत्त्वपूर्ण भूमिकामा छनौट भएका हुन्। अडिसनमार्फत आफ्नो अभिनय कौशल सिद्ध गर्दै चलचित्रमा स्थान बनाएका डेभिड यतिबेला काठमाडौंमा सोही चलचित्रको गहन ‘वर्कसप’ मा व्यस्त छन्। आफ्नो भूमिकालाई लिएर निकै उत्साहित देखिएका डेभिडको चरित्र चलचित्रको मुख्य पात्र सरह नै प्रभावशाली र जीवन्त रहने बताइएको छ।
डेभिडको अभिनय क्षमताबाट चलचित्रका निर्देशक प्रकाश कर्ण पनि निकै प्रभावित बनेका छन्। डेभिडको कामको प्रशंसा गर्दै निर्देशक कर्ण भन्छन्, “आफू र आफ्नो टिमले जे क्यारेक्टर सोचेका थियौँ, त्यो क्यारेक्टरलाई डेभिडले अझ बढी राम्रो र जीवन्त बनाएका छन्।” इटहरीस्थित ‘कलालय’ मार्फत रङ्गमञ्चीय साधना गरिरहेका डेभिडले सत्रु, रिफन्ड, बहुलकाजीको सपना र योगमाया लगायतका चर्चित १० वटा नाटकहरूमा सशक्त अभिनय गरिसकेका छन्। रङ्गमञ्चलाई आफ्नो पाठशाला र अभिनयलाई अभ्यास मान्ने डेभिडले यसअघि तिनतारा, बलिदान र विमान जस्ता चलचित्रका साथै ज्याक्यस, पाँच हजार र गाढा १७ जस्ता छोटा चलचित्रहरूमा पनि आफ्नो अभिनयको जादु छरिसकेका छन्।
अस्त्र फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जुबा’ मा डेभिड बिष्टसँगै नेपाली चलचित्रका स्टार अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन्। यसै चलचित्रमार्फत नयाँ अनुहार सोफी धरेलले डेब्यु गर्दैछिन् भने अभिनेता सुधन पोखरेल पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन्। प्रकाश कर्णको निर्देशन र वर्षा पौडेलको लेखन रहेको यस चलचित्रको कथा र विषयवस्तु पुरानो समयको परिवेशमा आधारित प्रेम, संघर्ष र सामाजिक मुद्दामा केन्द्रित रहने अनुमान गरिएको छ। यतिबेला प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्रको केही दिनमै छायांकन सुरु हुने तयारी छ।









Discussion about this post