विशेष अनलाइन । मधुसुधन भट्टराईद्वारा निर्देशित सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘हामी तीन भाइ’ को अग्रिम टिकट बिक्री सुरु भएको छ। आगामी चैत १३ गते शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको यस चलचित्रका लागि क्यूएफएक्स र आइएनआइसहितका प्रमुख हलहरूले मंगलबार बेलुकादेखि नै बुकिङ खुला गरेका हुन्। केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको यस चलचित्र १३७ मिनेट रहेको छ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले लगानी गरेका हुन्। चलचित्रले विशेषगरी तीन दाजुभाइबीचको पारिवारिक सम्बन्ध र धनसम्पत्तिका कारण उनीहरूबीच पैदा हुने दरारको कथालाई पर्दामा उतारेको छ। सामाजिक परिवेशसँगै मनोरञ्जनात्मक कमेडीलाई पनि समेटिएकाले यस चलचित्रलाई दर्शकले मन पराउनेमा निर्माताहरू निकै आशावादी देखिएका छन्।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत र फलित राईको मुख्य भूमिका रहेको छ। साथै, वरिष्ठ कलाकार राजाराम पौडेल, रवीन्द्र झा र विष्णु सापकोटालगायतको पनि सशक्त अभिनय देख्न पाइनेछ। चलचित्रलाई पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् भने साजित महत यसका प्रस्तुतकर्ता रहेका छन्।
सह-निर्माताका रूपमा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे आबद्ध हुनुहुन्छ। सुरुवाती चरणमा केही कम शोज पाएको भए तापनि, प्रदर्शनपछि बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएमा चलचित्रको शोज संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा निर्माण पक्षले राखेको छ। चलचित्रको प्रतिस्पर्धा आगामी शुक्रबार नै प्रदर्शन हुन लागेको हलिउडको एक्सन, हरर र कमेडी चलचित्र ‘दे विल किल यू’ सँग हुने देखिन्छ।









Discussion about this post