विशेष अनलाइन । व्यावसायिक रूपमा चर्चामा रहेको चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा उनलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कार्कीमाथि अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग मोटो रकम उठाएर ठगी गरेको गम्भीर उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।
यसअघि पनि अमेरिका लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा ‘तेल भिसा’ का निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती तथा अभिनेत्री ऋचा घिमिरेविरुद्ध वि.सं. २०८१ कात्तिक अन्तिम साता उजुरी परेको थियो। निर्माण पक्षका मुख्य व्यक्तिहरू नै यस्ता कानुनी झमेलामा परेपछि चलचित्र वृत्तमा निकै चर्चा चुलिएको छ।
चलचित्र ‘तेल भिसा’ वि.सं. २०८१ मंसिर ७ गतेदेखि प्रदर्शनमा आएको थियो। यो चलचित्रले विशेषगरी अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायको जीवनशैली र त्यहाँ भोग्नुपर्ने पारिवारिक एवं सामाजिक कथावस्तुलाई पर्दामा उतारेको थियो।









Discussion about this post