विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने तयारीमा रहेको चलचित्र ‘आचार्य’ मा भारतीय टेलिभिजनका चर्चित अभिनेता रोहित चौधरीको प्रवेश भएको छ। अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको यस चलचित्रमा रोहितलाई एउटा महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको हो। प्रोडक्सन म्यानेजर शंकर पाण्डेका अनुसार रोहित विगत एक सातादेखि नेपालमा रहेर चलचित्रको छायांकनमा निकै व्यस्त रहेका छन्।
भारतीय टेलिभिजन र ओटीटी प्लेटफर्ममा स्थापित नाम बनिसकेका रोहितले ‘कुमकुम भाग्य’, ‘चन्द्रकान्ता’, र ‘द्रौपदी’ जस्ता थुप्रै लोकप्रिय सिरियलहरूमा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्। बलिउड चलचित्र ‘शेइला’ मा समेत देखिएका उनले पहिलो पटक नेपाली चलचित्रमा काम गर्न लागेका हुन्।
चलचित्रलाई अभिनेत्री सञ्चिता लुइँटेलले निर्माण गरिरहेकी छन् भने निखिल उप्रेती आफैँ मुख्य भूमिकामा देखिनेछन्। सञ्चिताका लागि यो प्रोजेक्ट विशेष रहनेछ, किनकि उनले यसै चलचित्रमार्फत पहिलो पटक कोरियोग्राफी (नृत्य निर्देशन) मा समेत पाइला चाल्दैछिन्। उनले नेपाली र हिन्दी दुवै संस्करणमा समावेश हुने एउटा विशेष गीतको नृत्य निर्देशन गर्ने जिम्मेवारी सम्हालेकी छन्।
‘आचार्य’ मा निखिल र रोहितका साथै प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारी र सञ्चिता लुइँटेल जस्ता सशक्त कलाकारहरूको अभिनय रहनेछ। कलाकारहरूको यो बलियो समीकरण र निखिल उप्रेतीको निर्देशनले चलचित्र निकै ओजनदार बन्ने देखिएको छ। बहुआयामिक कलाकारहरूको सहभागिता रहेको यो चलचित्र अहिले छायांकनको चरणमा छ।
नेपाली र हिन्दी दुवै भाषामा लक्षित गरी निर्माण भइरहेको यो चलचित्रले दुई देशका कलाकारहरूलाई एउटै पर्दामा जोड्ने प्रयास गरेको छ। सञ्चिता लुइँटेलको निर्माण र कोरियोग्राफी अनि निखिल उप्रेतीको निर्देशन रहेको ‘आचार्य’ ले प्रदर्शनपछि नेपाली चलचित्र बजारमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ।









Discussion about this post