विशेष अनलाइन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष असर नेपाली चलचित्र बजारमा देखिन थालेको छ। चुनावी माहोलले गर्दा आम सर्वसाधारणको ध्यान राजनीतिमा केन्द्रित भएपछि निर्माताहरूले आफ्ना लगानी सुरक्षित गर्न प्रदर्शन मिति सार्न थालेका छन्। यसै क्रममा फागुन १ गतेका लागि प्रदर्शन तय गरिएको बहुप्रतिक्षित चलचित्र ‘कल्ली’ को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।
सोमबार लेकाली इन्टरटेन्मेन्ट प्रालिका तर्फबाट किरण नेपालीले एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा चुनावको प्राथमिकतालाई मध्यनजर गर्दै यो निर्णय लिइएको जानकारी दिए। विज्ञप्तिमा भनिएको छ, “अहिले देश निर्वाचनमय भएको छ, यस्तो अवस्थामा निर्वाचनप्रति सम्मान व्यक्त गर्दै हामीले चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेका हौँ।” निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भई वातावरण सहज भएपछि मात्रै यस चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, नाजिर हुसेन, वर्षा राउत र परिक्षा लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा अभिनेत्री पूजा शर्माले एउटा गीतमा विशेष नृत्य समेत गरेकी छन्। मानिसभित्र लुकेको दैवी शक्ति र दानवीय प्रवृत्ति बीचको द्वन्द्वलाई यस चलचित्रले मुख्य कथावस्तु बनाएको छ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त सहकार्यमा बनेको ‘कल्ली’ मा निर्देशक सुनारकै कथा र महेश दवाडीको पटकथा रहेको छ। निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन र एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।









Discussion about this post