विशेष अनलाइन । पछिल्लो समयका व्यस्त र डिमान्डेड अभिनेता महेश त्रिपाठी नयाँ चलचित्र ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ मा अनुबन्धित भएका छन्। एक महिनाअघि नै औपचारिक सम्झौता भए पनि निर्माण पक्षले बुधबार मात्रै उनी चलचित्रमा जोडिएको आधिकारिक घोषणा गरेको हो।
दार्शनिक भूमिकामा महेश चलचित्रको शीर्ष भूमिकामा देखिन लागेका त्रिपाठीले यसपटक आफू निकै बलियो र दार्शनिक छवि बोकेको पात्रमा प्रस्तुत हुन लागेको बताएका छन्। उनले भने, “यो चलचित्रमा मेरो पात्रले गहिरो दार्शनिक पक्ष बोकेको छ, जुन मेरा अघिल्ला भूमिकाभन्दा फरक हुनेछ।” यो चलचित्र ‘मेटा-मोर्डन फिलोसोफिकल’ (उत्तर-आधुनिक दार्शनिक) विधामा निर्माण हुने बताइएको छ।
अन्तर्राष्ट्रिय सहकार्य र छायांकन विकास सुवेदीको पटकथा तथा निर्देशन रहने यस चलचित्रको छायांकन सन् २०२६ को फेब्रुअरी (आगामी फागुन) देखि सुरु हुनेछ। चलचित्रको आधा भाग नेपाल र आधा भाग विदेशमा खिच्ने तयारी छ। यस परियोजनामा नेपालका तर्फबाट सुवास भुसाल निर्माता रहेका छन् भने अमेरिकाका क्रिस बेरुटी कार्यकारी निर्माताको रूपमा जोडिएका छन्। चलचित्रको पोस्ट-प्रोडक्सन (सम्पादन) को काम पोल्याण्डमा गरिने जानकारी दिइएको छ।
सफल अभिनेताको व्यस्तता अभिनेता त्रिपाठीका लागि सन् २०२५ निकै फलदायी रह्यो। उनी अभिनित पछिल्लो चलचित्र ‘परान’ सर्वकालीन धेरै कमाउने चौथो नेपाली चलचित्र बनेको छ, जुन १८ करोडको व्यापारिक आँकडातर्फ उन्मुख छ। यसअघि उनले ‘लाज शरणम्’, ‘रेशम फिलिली’, ‘११:५५’ जस्ता चलचित्रमार्फत दर्शकको मन जितिसकेका छन्।
हाल ‘झिङ्गेदाउ २’ को छायांकनमा व्यस्त रहेका त्रिपाठीले हालै ‘ककाकिकी’ र ‘३६ को आँकडा’ को काम पनि सम्पन्न गरेका छन्। नयाँ चलचित्र ‘शिरजरा’ को अहिले प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको छ।










Discussion about this post