विशेष अनलाइन । नेपाली दर्शकले प्रतिक्षा गरेको ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो प्रचार–प्रसार अभियान सोमबारदेखि कोशी प्रदेशको इटहरीबाट आरम्भ हुने भएको छ। इटहरीस्थित ईलाइट सिनेमा हल मा बेलुकी ५ बजेदेखि आयोजना हुने पत्रकार सम्मेलन तथा अतिथिसँगको भेटघाट कार्यक्रममार्फत चलचित्रको प्रचार अभियान औपचारिक रूपमा थालनी गरिनेछ। कार्यक्रममा प्रमुख कलाकार कामेश्वर चौरसिया र किरण श्रेष्ठको उपस्थिती रहने छ ।
निर्माता विनोद पौडेल का अनुसार, इटहरीपछि टोलीले चरणबद्ध रूपमा देशका अन्य प्रमुख शहरहरूमा पनि दर्शकसँग अन्तरक्रिया गर्नेछ। योजना अनुसार, टोली भदौ १७ मा जनकपुर, १८ मा वीरगन्ज र हेटौडा, १९ मा चितवन हुँदै अन्ततः काठमाडौं पुग्नेछ। यसरी प्रचार अभियानले दर्शकमाझ उत्साह र जानकारी फैलाउने उद्देश्य राखेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्रलाई निर्देशक सुशान्त गौतम ले निर्देशन गरेका हुन्। कथामा पैसाको प्रलोभन, अपहरण र त्यसले जन्माउने संघर्षलाई मूल आधार बनाइएको छ। हालै सार्वजनिक गरिएको ट्रेलरमार्फत समाजमा पैसाप्रतिको अन्धो मोह, त्यसकै कारण युवाहरूले रोज्ने अपराधपूर्ण बाटो र त्यसबाट आउने परिणामलाई देखाइएको छ।
चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारले अभिनय गरेका छन्। ‘अभिमन्यु’ अपराध र पैसाको चक्रव्यूहमा अल्झिएका पात्रहरूको कथा भन्ने उद्देश्यले तयार गरिएको छ। नेपालमा चलचित्र भदौ २७ गते रिलिज हुने छ भने यसको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने बताइएको छ।
चलचित्रको कथा मुकेश खनालले लेखेका हुन्। यसमा मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् भने विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, र विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डिओपी, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन र मदन घिमिरे सम्पादनमा रहेका छन् ।










Discussion about this post