विशेष अनलाइन । मदन पुरस्कार प्राप्त चर्चित उपन्यास ‘सेतो धरती’ मा आधारित नाटक आगामी चैत २७ गतेदेखि कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ। साहित्यकार अमर न्यौपानेद्वारा लिखित यस मर्मस्पर्शी कृतिलाई सुन्दर धितालले निर्देशन गर्दैछन्। बालविधवाको कथा र नेपाली समाजको यथार्थ चित्रण गरिएको यो पुस्तकमा आधारित चलचित्र वा नाटकको प्रतीक्षा साहित्यप्रेमीहरूले लामो समयदेखि गरिरहेका थिए।
यस चलचित्रलाई थप विशेष बनाउन नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा निर्मात्रीको रूपमा जोडिएकी छन्। यसअघि कान्तिपुर थिएटरकै नाटक ‘मीरा’ मार्फत रङ्गमञ्चमा अभिनेत्रीका रूपमा डेब्यू गरेकी रेखाले अब भने पर्दा पछाडि बसेर रङ्गमञ्चीय यात्रालाई निरन्तरता दिने निर्णय गरेकी हुन्। उनको संलग्नताले नाटकको व्यावसायिक र प्रवद्र्धनात्मक पक्षलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
यसै ‘चलचित्र’ मार्फत नेपाली रजतपटकी प्रभावशाली अभिनेत्री बेनिशा हमालले पनि रङ्गमञ्चमा आफ्नो डेब्यू गर्दैछिन्। लामो समयदेखि ठूलो पर्दामा सक्रिय बेनिशाका लागि यो नाटक एउटा नयाँ अनुभव र चुनौती दुवै रहनेछ। अहिले नाटकको रिहर्सल तीव्र गतिमा भइरहेको छ, जसमा बेनिशासँगै कान्तिपुर थिएटरका अन्य ३० भन्दा बढी अनुभवी कलाकारहरूले अभिनय गरिरहेका छन्।
कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत नेपाली साहित्यका क्लासिक कृतिहरूलाई नाट्य रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ। यसअघि एकेडेमीले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा थापा र पारिजातको कालजयी उपन्यास ‘शिरीषको फूल’ मा नायक जीवन लुइँटेललाई डेब्यू गराएर सफल मञ्चन गरिसकेको छ।
एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीका अनुसार रङ्गमञ्च, सिनेमा र साहित्यलाई एउटै सूत्रमा जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकको रूपमा प्रस्तुत गर्ने गरिएको हो।
यो नाटक चैत २७ गते शुक्रबारदेखि सुरु भई वैशाख १९ गते शनिबारसम्म मञ्चन हुने कार्यतालिका सार्वजनिक गरिएको छ।










Discussion about this post