विशेष अनलाइन । नेपाली रजतपतका अभिभावक एवं विशिष्ट कलाकार निर शाह झण्डै १० वर्षपछि निर्देशनको बागडोर सम्हाल्दै पुनः पर्दामा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुलाई मुख्य आधार बनाइएको नयाँ चलचित्र ‘कमला मिस’ मार्फत उनले आफ्नो निर्देशकीय यात्रालाई अघि बढाएका हुन्। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलको प्राङ्गणमा शुभमुहूर्त गर्दै यस चलचित्रको छायाङ्कन कार्य औपचारिक रूपमा आरम्भ गरिएको छ।
चलचित्रले मानव मनोविज्ञानका अत्यन्तै सूक्ष्म र गहिरा पाटाहरूलाई केन्द्रमा राखेर कथा बुनेको छ। चलचित्रमा स्वयं निर्देशक शाहका साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी र जयन्त रेग्मी लगायतका कलाकारहरू प्रमुख भूमिकामा देखिनेछन्।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुति रहेको चलचित्रको निर्माण पक्ष पनि निकै सशक्त देखिएको छ। उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माता रहेको यस आयोजनामा पुष्कर लामा (प्रेम भोम्जन) ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्। विजय मल्लको मौलिक कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर शाहलाई प्रजल दुलाल र सुगम दुलालले साथ दिएका छन्।
नेपाली चलचित्र इतिहासमा निर शाहको योगदान अतुलनीय छ। उनले यसअघि ‘वासुदेव’, ‘पच्चिस वसन्त’, ‘राजमति’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’ जस्ता कालजयी चलचित्रहरूको सफल निर्देशन गरिसकेका छन्। निर्देशनमा मात्र नभई अभिनयमा पनि उनले ३०० भन्दा बढी चलचित्रमा आफ्नो जीवन्त कला प्रस्तुत गरिसकेका छन्, जसले उनलाई दर्शकमाझ सधैँ लोकप्रिय बनाएको छ।
उनी अभिनीत पछिल्लो चलचित्र ‘परान’ ले बक्स अफिसमा झण्डै १८ करोड रुपैयाँको सानदार व्यापार गर्दै व्यावसायिक सफलताको नयाँ कीर्तिमान कायम गरेको थियो। अभिनयमा निकै व्यस्त रहँदा रहँदै पनि एक दशकपछि निर्देशनमा फर्किनुले नेपाली सिने जगतमा नयाँ उत्साह थपेको छ। ‘कमला मिस’ ले समाजमा एउटा गहिरो वैचारिक सन्देश प्रवाह गर्ने विश्वास निर्माण पक्षको रहेको छ।










Discussion about this post