विशेष अनलाइन । आध्यात्मिक मुकुन्डोभित्र लुकेको आपराधिक मानसिकतालाई उजागर गर्दै तयार पारिएको बहुप्रतिक्षित चलचित्र ‘शिवांश : च्याप्टर १’ भोलि शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ। धर्मको आडमा हुने गलत क्रियाकलापलाई पर्दामा उतार्ने कोसिस गरिएको यो चलचित्रले दर्शकमाझ कौतुहलता जगाएको छ। विशेषगरी एउटा अघोरी पात्रले कसरी रहस्यमयी ढंगले अपराधको जालो बुन्छ भन्ने विषयलाई यसको मुख्य कथावस्तु बनाइएको छ।
पौराणिक मान्यता र आधुनिक द्वन्द्वको समिश्रण रहेको यस चलचित्रको कथा समुन्द्र मन्थनको प्रसंगसँग जोडिएको छ। समुन्द्र मन्थनका क्रममा उछिट्टिएको एक शक्तिशाली र बहुमूल्य ‘शिला’ (ढुङ्गा) को खोजीमा सारा पात्रहरूको दौडधुप र संघर्ष नै यसको मुख्य आकर्षण हो। प्रवीण खतिवडाले निर्वाह गरेको अघोरी पात्रको रहस्य र उक्त शिला प्राप्त गर्ने होडबाजीले चलचित्रमा ‘स्पिरिचुअल एक्सन’को भरपूर आनन्द दिने देखिएको छ।
सन्तोष कुमार आत्रेयको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रवीण खतिवडाका साथै तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस परियोजनामा विकास जोशी र प्रदीपकुमार चौधरी जस्ता कलाकारहरूले पनि सहकार्य गरेका छन्। आध्यात्मिक शक्ति प्राप्त गर्ने लोभ र त्यसले निम्त्याउने विनासकारी द्वन्द्वलाई निर्देशकले कलात्मक ढंगले प्रस्तुत गरेका छन्।
प्राविधिक पक्षतर्फ पनि चलचित्र बलियो देखिएको छ। यसमा विप्लव प्रतीक र राजनराज शिवाकोटीका शब्द तथा न्ह्यू बज्राचार्य र राजनराजको सुमधुर संगीत सुन्न सकिन्छ। मिलन श्रेष्ठको द्वन्द्व निर्देशन र बनिश शाहको सम्पादन रहेको यस चलचित्रलाई सरद महतोले छायांकन गरेका हुन्। महाशिवरात्रिको पावन अवसर पारेर प्रदर्शनमा आउन लागेको यो चलचित्रले नेपाली दर्शकलाई नयाँ स्वाद दिनेमा निर्माण पक्ष ढुक्क देखिएको छ।
यद्यपि, प्रदर्शनको पूर्वसन्ध्यामा हलहरूको शो बाँडफाँडमा भने यो चलचित्र केही कमजोर देखिएको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरू क्यूएफएक्स, आईएनआई र वान सिनेमाज लगायतले अग्रिम बुकिङ खुला गरे पनि ‘शिवांश’ले अपेक्षाकृत शो प्राप्त गर्न सकेको छैन। उपलब्ध तथ्याङ्क अनुसार शुक्रबारका लागि यसले देशभर कुल ९७ शो मात्र पाएको छ, जसमा देशकै ठूलो चेन क्यूएफएक्सले जम्मा १३ शो उपलब्ध गराएको छ।
न्यून शो संख्याका बाबजुद पनि मौलिक कथावस्तु र आध्यात्मिक परिवेशका कारण चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यका र मोफसलका विभिन्न पर्दाहरूमा भोलिदेखि यो चलचित्रको भाग्यको फैसला हुनेछ।










Discussion about this post